वामदेव गाैतमकाे अडानः अरूले जबज छाेड्लान तर म छाेड्दिन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादले माअाेवादीसँग एकीकरणसम्म आउने आधार तयार पारेको बताएका छन् ।
१९ वर्षअघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले माअाेवादीसँगकाे पार्टी एकतापिछ पनि आफूले जबज छाड्न नसक्ने प्रष्ट पारेका हुन् ।
उनले भने ‘हुन त अहिले माओवाद र जबजलाई छलफलमा लैजाने निर्णय भएको छ’ ‘तर म जबज छाड्न सक्दिन । अरुले छाड्ने हुन् कि भन्ने डर पो लागिरहेको छ ।’ रुसमा समाजवाद असफल भएपछि एमालेले अंगिकार गरेको जबज नै संसारको उत्कृष्ट विचार भएको उनको दाबी छ ।
आफूले कहिल्यै माओवाद र माओवादी जनयुद्धलाई समर्थन नगरेको भन्दै गौतमले माओवादीलाई जबजको लाइनमा ल्याउन खोज्दा आफूलाई एमालेभित्रैबाट माओवादीको आरोप लगाइएको उनले बताए ।
एमालेको सफलता नै जबज भएको भन्दै गौतमले माओवादी विस्तारै एमालेको बाटोमा आएको बताए । गौतमले सबै पदकाे निर्वाचनपछि दुई पार्टीबीच सांगठनिक एकीकरण हुने बताए ।
यस्तै उनले वाम गठबन्धनको सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामहरुको मस्यौदा गर्न गठित कार्यदलका संयोजक समेत रहेका गौतमले १० वर्षभित्र नेपालमा समाजवाद आइसक्ने दाबी गरे ।
गौतमले अरु देशले ५० वर्षमा गरेको विकास नेपालले १० वर्षभित्र गरिसक्नुपर्ने बाध्यता रहेको समेत बताए । ‘अब ५ वर्षमा नेपालबाट गरीबी हटाउनेछौं । १० वर्षभित्रमा समाजवाद आउनेछ,’ एमाले उपाध्यक्ष गौतमले भने, ‘हामीसँग समय कम छ ।
अब धमाधम काम सुरु हुन्छ । अबको ५ वर्षसम्म नेपालका एक करोड मान्छेहरु काम गरिरहेका हुनेछन् । देश निर्माणमा सबैले काम पाउनेछन् । अब कोही विदेशिनु पर्ने छैन ।’