राजनीति

कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिने मानबहादुरले जित्लान् ?

कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिने मानबहादुरले जित्लान् ?

नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने नबनाउने भन्ने विषयमा छलफल थालेको छ । साँझसम्म निर्णय हुने नेताहरुले बताएका छन् ।

राष्ट्रपति चुनाव २९ गतेका लागि तय भएको छ भने भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 

वाम गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ र उम्मेदवार टुंगो लगाउन अपराह्न स्थायी कमिटी बैठक बोलाइएको छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपति उम्मेदवारका दाबेदार छन् ।

 

संसदमा प्रस्ट बहुमत भएकाले वाम गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ । कांग्रेसमा हार्ने चुनावमा उम्मेदवारी दिने कि नदिने भन्ने बहस छ । केहीले हार्ने चुनावमा उम्मेदवारी दिन नहुने बताएका छन् भने केहीले निर्विरोध हुन दिन नहुने मत राखेका छन् ।

 

‘सभामुखमा उम्मेदवारी नदिने भएपछि राष्ट्रपति पनि देशको हुने भएकाले किन उम्मेदवारी दिने भन्ने मत पनि छ’ एक नेताले भने, ‘तर, सिंगो पार्टी चलायमान हुने भएकाले उम्मेदवारी दिनुपर्छ भन्ने मत पनि छ । साँझसम्म निर्णय होला ।’

 

कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेको अवस्थामा मानबहादुर विश्वकर्मा उम्मेदवार हुने पक्का छ । उपसभामुखको उम्मेदवार भइरहेका उनी देउवा समूहका सांसद हुन् ।

विशेष