राजपा नेता रेशमलाल एमाले नै हुन् : प्रधानमन्त्री अाेली
काठमाडौं । कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपा सांसद रेशमलाल चौधरीको मुद्दा र उनले जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुबीच छलफल भएको छ ।
सोमवार संसद बैठकपछि राजपा अध्यक्षमण्डलका पाँच अध्यक्षले प्रधानमन्त्रीसँग संसद भवनस्थित उनकै च्याम्बरमा भेट गरेका थिए ।
राजपा नेताहरुले चौधरी जनताबाट निर्वाचित भइसकेको र उनले अदालतमा आत्मसमर्पण गरेको सन्दर्भमा अब उनलाई दुःख दिनेभन्दा पनि समाधान खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । चौधरीले जेलभित्रै अनसन थालेको भन्दै राजपा नेताहरुले प्रधानमन्त्रीसँग सहयोग मागेको बताइएको छ ।
जवाफमा प्रधानमन्त्री ओलीले अदालतको प्रक्रिया चलिरहेको र चौधरीप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको बताएका थिए । अदालतले गर्ने फैसला सबैले मान्ने तर त्यसअघि अनसन टुंग्याउन पहल गर्ने बारेमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको राजपाका एक नेताले बताए ।
छलफलमा प्रधामन्त्रीले रेमश चौधरीको परिवार नै एमाले भएकाले उनको बारेमा राजपा नेताहरुलाई भन्दा आफूहरुलाई बढी जानकारी रहेको समेत बताएका थिए ।
रेशम चौधरीका पिता लालवीर चौधरी एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेको प्रसंग पनि छलफलमा आएको थियो । लालवीर रेशमले जितेको क्षेत्र कैलाली १ (क) बाट एमाले उम्मेदवार थिए ।
त्यसो त रमेशलाल चौधरी पनि एमालेकै कार्यकर्ता थिए । ०५१ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उनी एमालेसम्बद्ध अनेरास्ववियुबाट रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए ।
उनी अनेरास्ववियुको पनि नेता थिए । उनको परिवार एमाले भए पनि पछिल्लो समय राजावादी हुँदै मधेशवादी आन्दोलनमा लागेका हुन् ।
प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले भने–रेशमको परिवार एमालेकै सदस्य हुन् । उनका बुबा हाम्रो उम्मेदवार थिए, तर जित्न सकेनन्, छोरालाई जनताले जिताइदिए,हामी जनमतको सम्मान गर्छौं तर अदालती प्रक्रियालाई सबैले सघाउनुपर्छ ।
रमेश चौधरीमाथि टीकापुरको सामूहिक नरसंहारको मुद्दा लागेकाले अदालतको आदेश पर्खिन उनले आग्रह गरेको बताइएको छ । वार्तामा सहभागी एमाले नेता सुवास नेम्वाङले चौधरीको बारेमा राजपा नेताहरु र प्रधानमन्त्रीबीच छलफल भएको र कानुनबमोजिम प्रक्रियामा दुवै पक्ष सहमत रहेको बताए ।
प्रधानमन्त्रीले यसबारेमा आफ्नो तर्फबाट नेम्वाङले नै डिल गर्ने जानकारी राजपा नेताहरुलाई दिएका छन् ।