महताेले अाेली-प्रचण्डलार्इ भने: धाेतीदेखि टाेपीसम्मकाे भावना अट्ने ठूलाे दिल बनाउनुहाेस्
काठमाडौं । वाम गठबन्धनका नेताहरुलार्इ सबे जनताकाे मर्मलार्इ बुझेर अघि बढ्न राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सुझाव दिएका छन् ।
संसद बैठकलाई सम्बोधनका क्रममा राजपा अध्यक्ष मण्डलका सदस्य महतोले जनताले वाम गठबन्धनलाई ठूलो दल बनाएको र अझैं मन पनि ठूलो बनाउन केपी शर्मा ओली र प्रचण्डलाई आग्रह गरे ।
‘प्रधानमन्त्री ओली र प्रचण्डजीलाई बधाई दिन चाहन्छु, जनताले अध्यधिक समर्थन दिएका छन्’ उनले भने, ‘जनताले ठूलो पार्टी बनाएका छन् । अब मन ठूलो बनाउनुस्, देश बनाउनुस् ।’
‘नेपालीका साथै मधेसी पनि हौं । धोती हाम्रो संस्कृति हो, यसमा गर्व छ ।’ हिन्दीमा सम्बोधन गर्दै महतोले भने ‘सबैको पहिचान र भावनाको सम्बोधन हुनुपर्छ ।’
अरु नेपालीलाई जत्ति मातृभूमिको माया छ, मधेसीहरुलाई पनि त्यति नै माया रहेको उनले बताए । ‘यो देश कुनै भाषा, जाति वा धर्मको होइन, सबैको देश हो’ महतोले भने, ‘प्रचण्डजीले ठीक भन्नुभयो, यो विवाद बढाउने समय होइन । सिंहदरबारले अरु जनता के चाहन्छन्, त्यो बुझे समस्या हुँदैन ।’
आन्दोलन तथा द्वन्द्व आफैं समाप्त नहुने भन्दै उनले भने, ‘कार्पेट मुनी धुलो छोपेर सफा हुँदैन ।’
प्रधानमन्त्री ओलीले फोरमका साथै आफ्नो पार्टीका नेताहरुसँग संविधान संशोधन गर्ने सम्झौता गर्ने प्रस्ताव राखेको भन्दै महताले भने, ‘सम्झौता त हामीले दजनौं गर्यौ प्रधानमन्त्रीजी । अब कति सम्झौता गरौं ? कति धोका खाऔं ?’
आफूहरुले समेत सहयोग गर्ने र दुई तिहाई बढी पुग्ने भन्दै उनले संविधान संशोधन अघि बढाउन आग्रह गरे । महतोले भने, ‘प्रधानमन्त्रीजी दिल खोलेर अघि बढ्नुस् । संविधान बाइवल, गीता होइन । संविधानमा जे संशोधन आवश्यक छ, त्यो गरौं ।’
उनले सम्झौता नभई संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारलाई आग्रह गरे ।