कांग्रेसमा देउवा नै शक्तिशाली
काठमाडौं । निर्वाचनमा पराजय, पार्टीमा पदाधिकारी तथा विभागहरु गठन गर्न नसक्नु र सरकारमा रहँदा जनमुखी कामहरु गर्न नसकेको आरोपसहित पार्टीमा पकड कमजोर बन्दै गएको मानिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
सो जितसँगै देउवा पार्टीमा वरिष्ठ नै रहेको सन्देश पनि प्रवाह भएको छ । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पछि पार्दै सभापति देउवा नेता बनेका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सांसदहरुको समथनमा उम्मेदवार बनेका सिंहले मात्र १९ मत ल्याएका थिए। निर्वाचनपूर्व पौडेल समूहले आफ्नो पक्षमा २४ मत रहेको आँकलन गरेको भए पनि अपेक्षाअनुसार पाँच मत कम आएको थियो।
दलका सम्पूर्ण सदय संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत सभापति देउवाले पाएकाले संसदीय दलको नेतामा देउवा निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले गरेका थिए ।
देउवाले ४४ मत पाए । नेता भएलगत्तै देउवाले उपनेतामा भर्खरै पार्टीमा फर्किएका विजयकुमार गच्छदारलाई नियुक्त गरेका छन् । जनता पोस्टमा छ ।