राष्ट्रपतिमा भण्डारीसँगै खनालको बलियो दाबेदारी
को–कति बलियो ? यस्तो छ स्थायी समितिमा समीकरण
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् ।
भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आश्वस्त पारिरहेका छन् । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए ।
केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउन लागेका छन् । उनले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताइसकेका छन् ।
उता, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी छिन् । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् ।
खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने कुराप्रति सचेत देखिएकी भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘क्याम्पेनिङ’ चलाएकी हुन् । उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा आश्वस्त छिन्
को–कति बलियो ?
यस्तो छ स्थायी समितिमा समीकरण
२६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र छन् ।
वतर्मान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ । उता, खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका हुन् ।
‘एमालेभित्र राष्ट्रपति बन्न योग्य अन्य थुप्रै साथीहरू पनि हुनुहुन्छ, तर प्रधानमन्त्रीले पनि सम्मान गर्नसक्ने, दुईपटक पार्टी प्रमुख र एकपटक कार्यबाहक महासचिव भइसकेका खनाललाई योगदानका आधारमा सर्वसम्मत बनाइदिँदा धेरै उपयुक्त हुन्छ,’ खनालको पक्षमा खटिरहेका एक पदाधिकारीले भने । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकममा छ ।