दुवै सभाकाे बैठक बस्दै, सभामुख चयनकाे मिति तय गरिने
काठमाडौं । संघीय संसद् र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको संसद बैठक विभिन्न कार्यसूचीमा छलफल गर्न आज पुनः बस्न लागेको हो ।
संसद् सचिवालयले बिहान ११ बजे दुवै सदनको बैठक बस्न लागेको जानकारी दिएको छ । सचिवालयका अनुसार, प्रतिनिधिसभाको आजको बैठकको मुख्य कार्यसूची प्रधानमन्त्रीले विश्वासको मत लिने मितिसँगै सभामुख चयनको मितिसमेत तय गर्ने रहेको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले समेत सम्बोधन गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले भने आजको बैठकमा सम्बोधन नगर्ने बताइएको छ । संघीय संसदमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गरी ५ दलको प्रतिनिधित्व छ ।
सचिवालयका अनुसार, आजको बैठकले नियमावली मस्यौदा समिति गठन गर्नेछ । राष्ट्रिय सभाको आज बस्ने बैठकले अध्यक्षको निर्वाचन मिति तय गर्न सक्ने सम्भावना छ ।