दुई ‘पार्किङ बे’ थप गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
एयर ट्राफिक र पार्किङका लागि समस्या झेलिरहेको नेपालको एक मात्र त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलले छिटै दुई ‘पार्किङ बे’ थप गर्दैछ।
अन्तर्राष्ट्रिय विमानस्थल पूर्व र पश्चिमपट्टि अहिले निर्माण भइरहेका दुई वटा ‘पार्किङ बे’को निर्माण कार्य सम्पन्न भएपछि थप चार वटा मिडियम र बोइङ ७७७ आकारका चार जहाज पार्किङ गर्न सकिनेछ।
अहिले विमानस्थलको अन्तर्राष्ट्रियतर्फ ९ वटा ‘पार्किङ बे’ छन्। ‘अहिलेको अवस्थामा यो पर्याप्त नभएकाले गर्दा दुई थप 'पार्किङ बे' निर्माण गर्न लागेका हौं,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘विमानस्थलको पूर्वतर्फ बोइङ ७७७ र मिडियम स्तरको विमान राख्न मिल्ने गरी काम भैरहेको छ।’ पूर्व तर्फ बनाउँदै गरेकोे 'पार्किङ बे'को लागि विमानस्थलले ३४ करोड रुपैयाँ छुट्याएको छ। दुई वर्ष अघिदेखि निर्माण कार्य जारी यसकाे निर्माण कार्य अागामी असारसम्म पूरा गर्ने लक्ष्य छ।
‘पार्किङ बे निर्माण गर्ने स्थानमा माटो भर्ने काम अन्तिम चरमणमा पुगेको छ’, प्रवक्ता ठाकुरले भने, ‘आउने असारमा काम सम्पन्न गर्ने लक्षका साथ ठकेदार कम्पनीहरुले काम गरिरहेका छन्।’
लामा, टुन्डी र समानान्तर ठेकेदार कम्पनीले पूर्वतर्फको 'पार्किङ बे' निर्माणको काम गरिरहेका हुन्।
पश्चिम तर्फ बनिरहेको 'पार्किङ बे' ठूला जहाज बोइङ ७७७ पार्किङका लागि लक्षित गरी निर्माण भइरहेको छ। एक वर्ष अगाडि निमार्ण सुरु भएको निर्माण कार्य अहिलेसम्म १५ प्रतिशत मात्र पूरा भएको छ। ५९ करोड रुपैयाँ लागत रहेकाे यसकाे निर्माणकाे काम स्वच्छन्द र खानी निर्माण कम्पनीले संयुक्त रुपमा गरिरहेका छन्। यो 'पार्किङ बे' निर्माण कार्य सम्पन्न हुन २०७५ फागुनसम्म लाग्नेछ।
दुवै 'पार्किङ बे' निर्माण समयमै पूरा भए अन्तर्राष्ट्रिय तर्फको पार्किङ समस्या घट्ने विमानस्थलको अपेक्षा छ। विमान कम्पनीहरुले विमान थप्ने कार्यलाई तीब्रता दिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अहिले भएको पार्किङले धान्न गाह्रो परिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अहिले एक सय हराहारीमा अन्तर्राष्ट्रिय र चार सय आन्तरिक उडान हुने गर्छन्। ‘दिनमा सयौंको संख्यामा विमान उडान र अवतरण हुने हुँदा पार्किङको समस्या छ,’ प्रवक्ता ठाकुरले भने, ‘एयर ट्राफिक जाम हुनुको एउटा कारण यो पनि हो।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक अन्तर्राष्ट्रिय तर्फ ३० र आन्तरिकतर्फ १० वटा एयरलाइन्स कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधारित भएर नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्छन्।
बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरसहितका एयरलाइन्स कम्पनीले आन्तरिक उडान गर्छन्।
नेपाल वायुसेवा निगमले आगामी असारभित्र अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइड वडी जहाज ल्याउने प्रक्रियामा छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरले समेत सन् २०२१ सम्ममा तीन ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाइरहेको छ।
नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्स पनि जहाज थप गरेर जापान, अमेरिका, यूरोप, अष्ट्रेलियासहितका गन्तव्यमा उडान गर्ने योजनामा छ। श्री एयर पनि अन्तर्राष्ट्रिय उडान अनुमतिको लागि प्रतीक्षा गरिहेको छ।
अन्तर्राष्ट्रिय उडान थप गर्न एयरलाइन्स कम्पनीहरुले तयारीलाई तीब्रता दिइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पार्किङ बे थप्नतर्फ लागेको हो। अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी त्रिभुवन विमानस्थलमा २६ वटा पार्किङ बे छन्।