राजनीति मुख्य समाचार

मधेसवादी दलका नेताप्रति खुसीलाल मण्डलको आक्रोश– मधेसी सपुतलाई सत्ताको भर्‍याङ बनाए !

मधेसवादी दलका नेताप्रति खुसीलाल मण्डलको आक्रोश– मधेसी सपुतलाई सत्ताको भर्‍याङ बनाए !

राजविराज । मधेसकेन्द्रित राजनीतिका पुराना नेता खुसीलाल मण्डलले मधेसवादी दलका नेताहरुले मधेसी सपुतको शवलाई सिँढी बनाएर सत्ता प्राप्त गरेको आरोप लगाएका छन्।

 

नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा एक वर्षअघि सप्तरीको मलेठमा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली दिँदै मण्डलले यस्तो आरोप लगाएका हुन्। गत वर्ष फागुन २३ गते भएको उक्त घटनामा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो।

 

‘बिहार सरकारको सचिवालयमाथि स्वतन्त्र भारतको झन्डा फहराउने ७ युवा विद्यार्थी सहिद भएपछि ब्रिटिस शासकलाई भारतबाट धपाउने नीति अपनाइयो’, सन् १९४२ को भारतीय स्वतन्त्रता आन्दोलनको स्मरण गर्दै नेता मण्डलले विज्ञप्तिमा भनेका छन्, ‘तर, नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ०७२-७३ मा दर्जन बढी मधेसी सपुतले सहादत दिँदा पनि सरकारको रौंसम्म हल्लिएन।’

 

मलेठ घटनामा सहिद भएका पाँच जनाको पहिलो वार्षिकी हुन नपाउँदै मधेसवादी दलले मधेसी सपुतको लाशलाई सिँढी बनाई सत्ता प्राप्तिको सिँढी उक्लिसकेको उनको भनाइ छ।

 

‘घोर मधेस विरोधी दलको झुटो आश्वासनको भरमा सरकारमा सहभागी हुनु मधेसी सपुतको रगतको अपमान हो’, उनी भन्छन्, ‘अब हाम्रो सामु प्रश्न खडा भएको छ– मधेसी सहिदलाई सत्ताको सिँढी बनाउने वा ती सहिदहरुको सपना साकार पार्न त्यस्ता तत्वको पहिचान गर्ने?’

विशेष