एमालेमा दुर्इ धार, अध्यक्ष अाेलीकाे अालाेचना
काठमाडौं - राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।
करिब सात घण्टासम्म चलेको बैठकको अन्त्यमा झलनाथ खनालले दाबी छाडेपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय भएको थियो ।
माधव कुमार नेपालको जन्मदिनको केक काटेर साँझ ६ बजे सुरु भएको बैठक सकेर एमालेका नेताहरु बालुवाटारबाट बाहिरिँदा रातको १ बजेको थियो । दोस्रो तहका नेताहरु कसलाई राष्ट्रपति बनाउने भनेर विभाजित भए पनि शीर्ष नेताहरुले यस विषयमा आफ्नो धारणा स्पष्टसँग राखेका थिएनन् ।
माधव नेपालले अध्यक्ष को कार्यशैली ठिक नभएको भन्दै आलोचना गरेका थिए । बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना भएको थियो ।
महत्वपूर्ण निर्णय गर्नुपर्दा अन्तिम समयमा मात्रै बैठक बोलाउने, पहिलो एजेन्डा केही पनि नभन्ने र पार्टी विधिअनुसार नचलेको भन्दै अध्यक्ष ओलीको आलोचना भएको थियो ।
'संसदीय दलको बैठकबारे जानकारी समेत ढिलो गरियो । अन्य विषयमा निर्वाचन समिति गठन हुन्थ्यो । संसदीय दलमा त्यो पनि भएन ।' उपमहासचिव घनश्याम भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो, 'संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी थियो ।' फागुन ३ गते दिउँसो भएको बैठक सुरु हुन लाग्दा मात्रै खबर भएको भुसालले बताए ।
राष्ट्रपतिबाट बिहान प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दिउँसो एमालेले संसदीय दलको नेता सर्वसम्मत रुपमा चुनेको थियो ।
बैठकमा पार्टीको कार्यशैलीप्रति आलोतना गर्दै उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्ने बताए ।