वाम गठबन्धनको कार्यदलको म्याद अझै लम्बिने
काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका लागी गठित कार्यदलले समयसीमा भित्र काम नसकेपछि म्याद थप गर्ने तयारी भएको छ । एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुबैले प्रतिवेदन तयार पार्न भोलीसम्मको समयसीमा पाएका छन् ।
विधान र संगठनात्मक कार्यदल सदस्य गोकर्ण विष्टले काम सम्पन्न गरी प्रतिबेदन बुझाउन थप एक साता लाग्ने भएकाले सोही अनुसार म्याद थप गर्ने तयारी भएको बताए । कार्यदलले मस्यौदा लेखनको काम करिब करिब टुङग्याईसकेको उनको दाबी छ । तर त्यसमा केहि छलफल आवश्यक रहेकाले थप केही दिन समय लाग्ने विष्टले बताए ।
राजनैतिक कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलले भोलीसम्ममा आफ्नो काम सम्पन्न गर्न नभ्याउने बताए । उनले भने, ‘समयसिमा भित्र काम सम्पन्न गर्न नसक्ने देखिएको छ । भोली थप छलफल गरी समय माग गर्नेछौं ।’ २ पार्टीको एकतालाई सहयोग पुग्ने हेतुले एमाले माओबादी शीर्ष नेताहरुले विभिन्न ४ कार्यदल गठन गरेका थिए । सबै कार्यदलको समयसीमा भोली सकिदैछ ।