मुख्यमन्त्री गुरुङको दाबी: पाँच स्याटेलाइट सिटी र २० लाख पर्यटक
पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले बनाएको विधि र ऐनले देशको मात्रै नभएर संघीयता लागु भएका सबै देशमध्ये नमुना प्रदेश बनाउने दाबी गरेका छन् ।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङले शुक्रबार दुई तिहाई बहुमतसहित विश्वासको मत पाएका छन् ।
त्यसअघि प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नमूना प्रदेश बनाउने योजना र त्यसका केही आधार सुनाए । प्रदेशको विकास र समृद्धिको लागि सबैभन्दा बढी सम्भावना रहेका क्षेत्र पर्यटन, ऊर्जा, कृषि, खेलकुद लगायतका क्षेत्रमा प्रदेश सरकारले लगानी केन्द्रित गर्ने बताएका छन् ।
‘प्रदेशले सरकार आफूले गर्ने कामको प्राथमिकीकरण गरेर लगानी गर्ने र लगानीका लागि वातावरण तयार पार्ने तथा त्यसैअनुरुप कानुन निर्माण गर्नेछ’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने, ‘सडक पूर्वाधार, हवाइ पूर्वाधार, लगानीका भौतिक पूर्वाधार निर्माणमा संघ र प्रदेशको लगानी बढाइने छ ।’
कानुन बनाउँदा दिगो विकासलाई प्राथमिकता राख्ने उनले बताए । मुख्यमन्त्री गुरुङ मन्त्रिपरिषदको पहिलो बैठकले घोषणा गरेका कार्यक्रमलाई पूरा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
५ वर्षभित्रमा प्रदेश राजधानीसँग स्थानीय सरकारका केन्द्रलाई सडक सञ्जालले जोड्ने, २ वर्षमा सबै बस्तीमा खानेपानी र उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत बिजुली पुर्याउने योजना उनको छ ।
अन्तर्राष्ट्रिस्तरको खेल मैदानका साथै मुटु, क्यान्सर र मृगौला पीडितका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने प्रतिवद्धता पनि जनाए ।
१० वर्षभित्रमा ३ हजार मेगावाट विद्युत उत्पादनका लागि पूर्वाधार तयार गर्ने उनको भनाइ छ । वैज्ञानिक भूमिसुधार, कृषिमा व्यावसायीकरण, कृषि उपजको भण्डारण र बजारीकरणका लागि एक स्थानीय तह एक सितभण्डार स्थापना गर्ने उनले प्रतिवद्धता प्रदेश सभामा व्यक्त गरेका छन् ।
प्रदेशमा भस्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उनले बताए । आगामी वर्षको वजेट प्रस्तुत गर्दा प्रादेशिक गौरवका आयोजनाको पहिचान गर्दै कार्यक्रम तय गर्ने उनको योजना छ । वित्तिय व्यवस्थापन र सुशासन कायम गर्न प्रदेश सरकारले विशेष योजना बनाउने गुरुङले बताए ।
प्रदेश सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । त्यसका लागि पोखरा र केही सहरमामात्र पर्यटनलाई केन्दि्रत नगरी ५ वर्षभित्रमा प्रदेशका ३ सय गाउँलाई ग्रामीण पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने गुरुङले बताएका छन् ।
५ वर्षभित्रमा बर्सेनि २० लाख पर्यटक प्रदेशमा भित्राएर यस क्षेत्रको समग्र विकास गर्ने योजना मुख्यमन्त्री गुरुङले सुनाए ।
मुख्यमन्त्री गुरुङले प्रदेशको विकासका लागि स्याटेलाइट सिटीको विकास र ठूला आधुनिक सहर निर्माणको योजना पनि प्रदेश सभामा सुनाए ।
प्रदेश राजधानीको नजिकमा पर्ने पर्वतको कुश्मा र फलेवास, स्याङ्जाको पुतली बजार, तनहुँको शुक्लागण्डकी र लमजुङको मध्य नेपाललाई स्याटेलाइट सिटीको रुपमा विकास गर्ने उनको दाबी छ ।
मर्स्याङ्दी, कालीगण्डकी लगायत नदी आसपासमा प्रदेशस्तरका ठूला आधुनिक सहरको विकास गर्ने गुरुङको योजना छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइलाई उच्च प्राथमिकताका साथ लगानी गर्ने गुरुङले बताएका छन्
साथै प्रदेशको नाम के राख्ने भनेर बहस सुरु भइरहेका बेला मुख्यमन्त्री गुरुङले सबैको सल्लाह र सहमतिको प्रदेशको नामाकरण गर्ने बताएका छन् ।
सबै रजनीतिक दल, स्थानीय तह र नागरिकसँग सल्लाह गरी प्रदेशको नामाकरण गर्ने उनले संसदमा प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकारका लागि आवश्यक पर्ने कानुनहरुको प्राथमिकीकरण गरी प्रस्तुत गर्ने मुख्यमन्त्री गुरुङले बताए ।