एमाले–माओवादी एकता यसकारण लम्बियाे
काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लम्बिएको छ । एकताका लागि सैद्धान्तिक तथा सांगठनिक विषय टुंग्याउन गठित कार्यदलले समय सीमाभित्र काम नसकेपछि पार्टी एकता प्रक्रिया लम्बिएको हो ।
एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुवैले प्रतिवेदन तयार पार्न बिहीबारसम्मको समय थियो । पार्टी संयोजन समितिको फागुन ७ गते बसेको बैठकले सात आधारमा केन्द्रित रही फागुन १० मा कार्यदल बनाएको थियो।
तर तोकिएको समयभित्र काम नसकेपछि दुवै कार्यदलको समय थप गरिएको विधान र संगठनात्मक कार्यदल सदस्य वेदुराम भुसालले बताए । काम सम्पन्न गरी प्रतिवेदन बुझाउन थप एक साता लाग्ने भएकाले सोहीअनुसार म्याद थपिएको छ।
भुसालले भने ‘हामीले मस्यौदा लेखनको काम करिब टुंग्याइसक्यौँ, कार्यदलमा छलफल बाँकी रहेकाले समय थप गरिएको हो ।’ याे खबर अाजकाे जनता पोस्टमा छ ।