वैदेशिक रोजगारीमा नीजी क्लिनिकको सिण्डिकेट तोड्छु-परराष्ट्रमन्त्री ज्ञावली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या सहकार्य गरेर समाधान गर्ने भएका छन्।
मंगलबार दुवै मन्त्रालयका सचिव सहितको भेटमा वैदेशिक रोजगारीको क्षेत्रमा समस्या चुलिएको भन्दै मिलेर समस्या समाधान गर्ने विषयमा छलफल भएको हो।
विभिन्न देशबाट फर्जी माग पत्र आएको र नेपाली कामदारलाई अप्ठ्यारो परेको भन्दै कूटनीतिक पहल गरेर समस्या समाधान गर्न श्रममन्त्री विष्टले ज्ञावलीलाई आग्रह गरे। मन्त्री ज्ञावलीले दूतावासलाई तत्काल निर्देशन दिने बताउँदै छिट्टै समस्या सुल्झाउन मन्त्रालय तयार रहेको बताए।
यस्तै नीजि स्वास्थ्य संस्थाले मात्रै विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने एकाधिकार अन्त्य गर्दै सरकारी अस्पतालले गर्ने स्वास्थ्य परीक्षणलाई मान्यता दिनका लागि पहल थाल्न समेत परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको श्रम मन्त्रालयका प्रवक्ता कृष्ण ज्ञावलीले जानकारी दिए।
श्रम सम्झौताका लागि कूटनीतिक पहल थाल्न समेत परराष्ट्रमन्त्रालयलाई श्रम मन्त्रीले आग्रह गरेका छन्।