राजनीति

देउवालार्इ सिंहकाे चेतावनीः अब पदाधिकारी नियुक्ति गरेमा स्वीकार्य हुँदैन

‘सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्र आतंकित पारेकाे छ‘

देउवालार्इ सिंहकाे चेतावनीः अब पदाधिकारी नियुक्ति गरेमा स्वीकार्य हुँदैन

 काठमाडौं । सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् ।

 

आज नेपाल प्रेस युनियन गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउने प्रयासमा लागेको छ ।’

 

कांग्रेसले लिएको अर्थ नीति गलत थियो भन्ने देखाउनका लागि श्वेत पत्र जारी गरिएको उनले दोहोर्‍याए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निरन्तरताबाहेक अरु केही नभएको सिंहले टिप्पणी गरे ।

 

 ‘प्रधानमन्त्रीको भारत भ्रमण पहिले-पहिले पनि हुने गरेकाले यसलाई चमत्कारको रुपमा बुझ्न जरुरी छैन,’ सिंहले भने, ‘यसपटक भएका कुरा कार्यान्वयन गराउन सकेमात्र उपलब्धिमुलक मान्न सकिन्छ ।’

 

कांग्रेस विधिसम्मत चल्न नसक्दा र लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्न नसक्दा नै निर्वाचनमा हारेको भन्दै उनले अब व्यापक सुधारको आवश्यकता औंल्याए ।

 

‘कांग्रेसलाई विधिसम्मत चलाउन सकेमा र सुधार गर्दै जान सकेमा मात्र कम्युनिस्ट गठबन्धनसँग प्रतिस्पर्धामा जान सकिन्छ,’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने ।

 

पार्टी सभापति शेरबहादुर देउवाले दुई महिनामा गर्नुपर्ने पदाधिकारी नियुक्ति अब गरेमा बिधानबिपरित हुने भएकाले आफूहरुलाई स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

 

पार्टीमा सुधार होस् भनेर आफूले यी सब कुरा गरेको भन्दै उनले यसलाई विरोध गरेको भनेर नबुझ्न आग्रह गरे । पार्टी कार्यकर्ताहरुलाई निराश नभइ संगठन सुधारमा लाग्न उनले निर्देशन दिए ।

 

गुल्मी कांग्रेसले बैशाख १ गतेबाट सुरु गर्न लागेको ‘गाउँ जाऔं, गाउँमै रमाऔं,’ अभियानमा सक्रियतापूर्वक सहभागि हुन उनले सबै नेता-कार्यकर्ताहरुलाई आग्रहसमेत गरे ।

प्रकाशमान सिंह श्‍वेतपत्र

विशेष