राजनीति

सरकारले निगरानी बढाएपछि भुमिगत बन्दै विप्लव-माओवादी

जाजरकोट पुगेर नयाँ कार्यक्रम घोषणा गर्दै

सरकारले निगरानी बढाएपछि भुमिगत बन्दै विप्लव-माओवादी

काठमाडौं । कुनै बेला सहयोद्धा रहेका दुई नेता नेत्रविक्रम चन्द विप्लव र रामबहादुर थापा बादल यतिबेला एक विद्रोही नेता र अर्का गृहमन्त्री छन् ।

 

बैचारिक लाईन अनुसार उनीहरु अहिले आमने–सामने छन् । विप्लवको पार्टीको लाईन हो, एकीकृत जनक्रान्ति मार्फत जनवाद स्थापना गर्ने । जुन प्रष्ट रुपमा राज्यसत्ताको विरुद्ध जान्छ ।

 

र राज्यसत्ताको बागडोर सम्हालेका छन्, बादलले । उनको लाईन हो, समृद्धि र विकास । यसको विरुद्धमा कोही गयो भने पक्राउ गर्दै जेल हाल्ने बादलको दायित्व नै हो ।

 

तर सुरु भइसकेको छ उनीहरुको खिचातानी । स्थानीय तहको चुनावदेखि नै विरोध गर्दैआएका विप्लव अहिले स्थानीय तहका प्रतिनिधिहरुलाई राजीनामाको लागि दबाब दिन थालिसकेका छन् ।

 

पहाडी जिल्लाका केही स्थानीय तहमा त उनले राजीनामा दिनका लागि प्रमुख, उपप्रमुख लगायतलाई राजीनामा दिन पत्र नै काटिसकेका छन् । उनको पार्टी नेकपाका केही नेताले बताए अनुसार अब छिट्टै नयाँ कार्यक्रमको घोषणा गर्दैछन् ।

 

एक नेताले बताए अनुसार जाजरकोट पुगेर विप्लव नयाँ कार्यक्रम घोषणा गर्ने तयारीमा छन् । नेतृत्व तहका प्रभावशाली पदाधिकारीहरु लगभग भुमिगत शैलीमै छन् ।

 

भुमिगत हुँदै नेताहरु

पछिल्लो चुनावको बेला सरकारले ५ सय बढी नेता–कार्यकर्तालाई पक्राउ गरेपछि नै उनीहरु सार्वजनिक रुपमा खुलेर लाग्न सकेका छैनन् । चुनाव भाँड्ने नेकपाको नीतिपछि सरकारले पनि कडाइ गरेको थियो ।

 

थुप्रै कार्यकर्ता पक्राउ परे । चुनावपछि उनीहरु छुटे तर सार्वजनिक रुपमा खुलेर लागेका छैनन् । यस बीचमा नेकपाले नेपाल बन्द घोषणा गर्यो । सरकारले भने विप्लवसहित तीन नेताको घरमा पुर्जी टाँसेको छ ।

 

प्रतिउत्तर स्वरुप उनीहरुले पनि प्रधानमन्त्री केपी ओली र प्रचण्डको नाममा पुर्जी काटे । स्रोतका अनुसार नेकपाका केही कार्यकर्तालाई सरकारले कब्जामा लिइसकेको छ । थुप्रै कार्यकर्तामाथि निगरानी बढाउँदैआएको छ । 


सरकारको कडा नीतिसँगै विप्लव सहित १ सयको हाराहारीमा नेता–कार्यकर्ताहरु भुमिगत बन्ने योजनामा छन् । चाँडै जाजरकोट पुगेर आफ्नो कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ ।

 

सम्पर्क विहिन 

आफ्नै निकटस्थहरुसँग समेत उनीहरु अचेल सम्पर्क विहिन जस्तै छन् । पुरानो फोन नम्बर पनि नष्ट गरेर नयाँ नम्बर लिएका छन् । पार्टीका ‘कोर’ नेता–कार्यकर्ताबाहेक अन्य सुभचिन्तकसँग समेत उनीहरु सम्पर्क विहिन छन् ।

 

यतिसम्म कि, एन्ड्रोइड फोनले लोकेशन संकेत गर्ने हुँदा सस्ता मोवाइल फोन प्रयोग गर्न थालेका छन् । जब कि, लोकेशन संकेत नहोस् । खासगरी उनीहरु कालिकोट र जाजरकोटमा केन्द्रित भएर नयाँ कार्यक्रमको तयारीमा रहेको बुझिएको छ ।

  

रामबहादुर थापा बादल चन्द विप्लव

विशेष