राजनीति

प्रधानमन्त्रीकाे भारत भ्रमण तयारी तीव्र, पूर्वपरराष्ट्रमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीले लिए सुझाव

प्रधानमन्त्रीकाे भारत भ्रमण तयारी तीव्र, पूर्वपरराष्ट्रमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीले लिए सुझाव

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वपरराष्ट्रमन्त्रीहरु र प्रवुद्ध ब्यक्ति समूह (ईपीजी)का टोलीसँग संयुक्त रुपमा नेपाल भारत सम्बन्ध र अन्य समग्र कूटनीतिक विषयमा परामर्श गरेका छन् ।

 

उनले ललितपुरको एक होटलमा बिहान ‘ब्रेकफास्ट’ बैठक नै गरेर नेपालको कूटनीतिमा परेका समस्या र भारतसँगको सम्बन्ध विस्तारलाई लिएर छलफल गरेको परराष्ट्र अधिकारीले बताए ।

 

छलफल विशेष गरि आगामी शुक्रबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारतको राजकीय भ्रमणमा नै केन्द्रित रहेको एक सहभागीले बताए।

 

परराष्ट्रमन्त्रीले वर्तमान अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई जोडेका थिए । त्यसपछि उपस्थित सबैले भारतसँग सम्बन्ध सुधार गरेर नै मुलुकको विकास प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

 

नेपाल र भारतको सम्बन्धमा कर्मचारी स्तरबाट सम्बन्ध बिग्रने गरेकाले राजनीतिक तहमा सिधा पहुँचको खाँचो उनीहरुले औंल्याएका थिए । परराष्ट्रमन्त्रीको सचिवालयले भने यो बैठकलाई आन्तरिक भन्दै बाहिर ल्याउन चाहेन।

 

छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरु भेखबहादुर थापा (ईपीजी संयोजक), रामशरण महत, सुजाता कोइराला, प्रकाशचन्द्र लोहनी, महेन्द्र पाण्डे, प्रकाशशरण महतको उपस्थिति रहेको भए पनि पूर्व परराष्ट्रमन्त्री रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वपरराष्ट्रमन्त्रीहरु कमल थापा, नारायणकाजी श्रेष्ठ, रमेशनाथ पाण्डेको भने सहभागिता रहेको थिएन।

विशेष