राजनीति

खरेलका लागि आईजीपीको बाटो बन्द भयो तर खुल्यो राजनीतिको राजमार्ग

विवेकशील–साझाको कुटनीतिक आग्रह

खरेलका लागि आईजीपीको बाटो बन्द भयो तर खुल्यो राजनीतिको राजमार्ग

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक पदमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै उनका समकालिन दुई डिआईजी रमेश खरेल र पुष्कर कार्कीको महानिरिक्षक बन्ने यात्रा लगभग समाप्त भयो ।

 

डिआईजी खरेलले त राजिनामा नै दिए । आफू योग्य हुँदा हुँदै आईजीपी बन्न नपाएपछि हिनताबोध भएको भन्दै खरेलले राजिनामा दिएका हुन् । एसपी छँदादेखि नै चर्चामा रहेका खरेलको राजिनामाले प्रहरी प्रशासनमा त असर पारेन खरेलकै प्रशंसकमा भने तरंग ल्याएको छ ।

 

‘खरेललाई आईजीपी बनाउनुपर्छ’भन्दै आम जनस्तरमा आवाज नै उठेको थियो । यतिसम्म कि, उनी एसपी छँदा नै खरेलका प्रशंसकले आईजीपी बनाउनुपर्ने भन्दै आवाज उठाएका थिए ।

 

फेसबुक पेज लगायत विभिन्न फ्यान पेजमार्फत खरेलको प्रशंसा गर्नेहरुका लागि यो पक्कै चित्तबुझ्दो कुरा होइन ।

 

तर प्रहरी प्रशासनको आफ्नै विधि–विधान र पद्धति छ । बरियताका आधारमा सर्वेन्द्र खनाल नै अगाडि थिए । सरकारले सोही आधारमा उनलाई आईजीपी बनायो ।

 

जुन निर्णय खरेललाई चित्त नबुझेपछि राजिनामा दिन पुगे । खरेलले राजिनामा दिएपछि भने उनका प्रशंसकले राजनीतिमा आउन सुझाव दिन थालेका छन् ।

 

प्रहरीका प्रशंसक

प्रहरीमा पछिल्लो समय प्रशंसक बटुल्ने संस्कार नै बसेको छ । केही महत्वाकांक्षी योजना ल्याएर लागू गराउने । जनतामाझ हाइ–हाइ हुने । र फ्यान क्लब नै बनाउने प्रहरी अधिकृतहरुको नयाँ तरिका नै बनेको छ ।

 

खरेलले सुरु गरेको चर्चाको यस्तो काइदा सिलवाल र खनालले पनि राम्ररी पछ्याए । यस्तो लोकप्रियताको हतियारले बरियता क्रममा प्रभाव नपारे पनि जनदबाब भने सृजना गर्छ । जसले गर्दा सरकारको निर्णयलाई समेत प्रभाव पार्न सक्छ ।

 

त्यसो त यस्ता चर्चा र प्रशंसालाई ‘सस्तो लोकप्रियता’भनी आलोचना पनि हुँदैआएका छन् । आखिर ति प्रशंसकले स्वयं आईजीपी बनाउन दबाब दिएकै हुन्छन् ।

हेराै‌ं डिअाइजी खरेलले नेपाल अाजसँग दिएकाे अन्तर्वाता

राजनीतिमा बाटो खुला

नेपाल प्रहरीका पूर्व एआईजी नवराज सिलवाल अनेक विवादका बीच प्रहरीबाट हट्नुपर्यो । शेरबहादुर देउवा नेतृत्वको सरकार सोही कारण पनि विवादमा मुछियो ।

 

सिलवालका लागि आईजीपी बन्ने बाटो त बन्द भयो, सँगै राजनीतिको फराकिलो राजमार्ग खुल्यो । अन्ततः नेकपा एमालेले चुनावमा उठायो र सिलवालले जिते पनि ।

 

फलस्वरुप सिलवाल अहिले प्रतिनिधिसभा सदस्य छन् । त्यति मात्रै नभएर प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमै मन्त्री बनाउने घोषणा गरिसकेका छन् ।

 

चर्चित हुँदा हुँदै बाहिरिएका खरेलका लागि पनि सिलवालको बाटो जस्तै अवसर भने देखिएको छ । खरेलले राजनीतिमा आउनसक्ने संकेत दिँदै अन्तरवार्ता दिइरहँदा उनी पनि सिलवाल झैँ सक्रिय राजनीतिमा आउने सम्भावना देखिन्छ ।

 

नेपालआजले यही सन्दर्भमा उनीसँग केही प्रतिक्रिया लिएको थियो । तर तत्कालका लागि केही योजना नरहेको उनको जवाफ थियो । यद्यपि राजिनामा दिने भन्दै राजनीतिमा आउनसक्ने अन्तरवार्ता उनले दिइसकेका छन् ।

 

विवेकशीलको सुभेच्छा

खरेलले राजिनामा दिने भनेपछि नै विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले उनीप्रति सुभेच्छा प्रकट गरी राजिनामा नदिन आग्रह गरेका थिए । 

 

मिश्रको आग्रहले खरेललाई रोक्न त सकेन तर खरेलप्रति सद्भाव भने देखियो । स्मरणीय के छ भने, मिश्रले विवेकशील साझा पार्टी स्थापना गर्ने बेला खरेललाई पनि पार्टीमा आउन आग्रह गरेका थिए ।

 

आईजीपी बन्ने लाइनमा रहेका खरेल त्यसबेला तत्काल प्रहरी छोड्ने मुडमा थिएनन् । अन्ततः खरेलले प्रहरीबाट राजिनामा दिनु र तत्काल मिश्रले खरेल जस्तो इमानदार प्रहरी अधिकृतलाई राजिनामा दिन नहुने भन्दै सद्भाव प्रकट गर्नु केही कुटनीति तरिका जस्तो पनि लाग्छ ।
 

रमेश खरेल आईजीपी राजनीति राजिनामा

विशेष