पूर्वराजाले नेता भेटेपछि राप्रपामा विवाद किन ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले तीनवटै राप्रपाका नेताहरूलाई सामूहिक रुपमा भेटेपछि राप्रपा एकता प्रकरणमा विवाद सुरू भएको छ। राप्रपाको विद्यार्थी संगठनले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा नेताहरूबीच विवाद देखिएको छ।
कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकताबारे सशर्त अभिव्यक्ति दिए भने उपाध्यक्ष बुद्धिमान तामाङले जुनसुकै मूल्यमा पार्टी एक हुनुपर्ने अडान राखे। कार्यक्रममा अध्यक्ष कमल थापाले तुरुन्तै फुटेर जाने भए मिल्न नसकिने तर्क गरेका थिए।
उनले भने- 'हामीले लिएको नीति र सिद्धान्त मान्ने भए हामी एकताका लागि तयार छौं। हाम्रो कार्यनीति परिवर्तन गर्न पनि सकिनेछ। तर तुरुन्तै फुटेर जाने भए किन मिल्ने? उनले राप्रपा चुनावमा पराजित भए पनि आफूहरु समाप्त भने नभएको तर्क गरे। अहिलेको अवस्थालाई सुधारेर जाने सकिने विश्वास उनले दिलाएका थिए।
त्यसअघि बोल्ने उपाध्यक्ष तामाङले भने एकताको कुरा केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भइसकेको स्मरण गराएका थिए। उनले भने- अब एकताको विकल्प छैन। राष्ट्रवादी शक्ति एक हुनै पर्छ। सहज अवस्थाबाट बच्चा नजन्मिए सिजेरिन (शल्यक्रिया) गरेर भए पनि बच्चा जन्माउनु पर्छ।
उपाध्यक्ष तामाङले पार्टी अहिले सानो भए पनि औचित्य समाप्त नभएको तर्क गरे। राप्रपाले बोकेको राजतन्त्रको एजेण्डा नेपाल र नेपालीका लागि उत्तम हुने ठोकुवा उनले गरे।