चर्चित लेजेण्ड्री म्युजिसियन बिजय बैद्यको निधन
काठमाडौँ । लेजेण्ड्री म्युजिसियन बिजय बैद्यको निधन भएको छ । दुई साताअघि टिचिङ् अस्पतालमा भर्ना भएका उनको आईतबार बिहान ५ बजे मृत्यु भएको हो । ५२ वर्षिय वैद्य पछिल्लो केर्ही वर्ष यता बिरामी थिए ।
उनी सन १९९१ मा स्थापना भएको ‘सुरसुधा’ सांगीतिक ब्याण्ड’ का संस्थापक सदस्य थिए । उक्त समुहबाट बाहिरिएर ‘सोलो आर्टिस्ट’ को रुपमा काम गरेका थिए । शास्त्रिय वाद्ययन्त्रको सितारको आवाजलाई विद्युतीय माध्यमबाट निकालेर ‘रक सितार’ बजाउथेँ । दातबाट सितार बजाउने उनी आफ्नो फरक शैलीको कारण चर्चित थिए । उनी आफूलाई ‘सितार योगी’ भनेर चिनाउँथे । देश विदेशमा धेरै कन्सर्ट गरेर चर्चा कमाएका उनले सन २००० मा आफ्नो लागि आफै इलेक्ट्रिक सितार बनाएका थिए ।
वैद्यले सन् २००१ मा सितार सुधा, सितारान्स २००३, म्युजिक अफ पिस २००६, रक सितार २०११, च्यान्टस अफ हिमालय, बिजय २०१३ लगायत दर्जनौं एल्बम निकालेका थिए ।
सितारको माध्यमबाट विश्वभर नेपाली संगितलाई चिनाउन उनले महत्वपूर्ण भुमिका खेले। उनले फ्रान्समा ५ सय, जर्मनीमा २ सय, जापानमा ४०, बेल्जियममा २० वटा कन्सर्टहरु गरेका थिए । उनी आफ्नो कला प्रदर्शन गर्न अन्य देशमा पनि पुगेका थिए ।
बैद्यले अन्तर्राष्ट्रिय अवार्डहरु समेत हात पारेका थिए । लण्डन र फ्रान्सको अन्तर्राष्ट्रिय म्युजिक अवार्ड जित्नुका साथै धेरै देशमा सम्मानित भएका थिए । उनले सन् १९८० मा प्रयाग संगीत समिती अलाहाबादबाट म्युजिकमा मास्टर डिग्री सकेका थिए । उनको आइतबार दाहसंस्कार गरिएको छ ।
(तस्वीरः गगन थापा)