मुख्य समाचार राजनीति

बैशाख ९ मा एमाले-माओवादी एकता घोषणाको सम्भावना न्यून

बैशाख ९ मा एमाले-माओवादी एकता घोषणाको सम्भावना न्यून

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा बैशाख ९ मा हुने सम्भावना न्यून बन्दै गएको छ। नेपालमा कम्युनिस्ट पार्टी स्थापनको दिन अर्थात् अप्रिल २२ (बैशाख ९ गते) पार्टी एकता गर्ने भनिएको थियो। तर एकताको दिन नजिकँदै जाँदा पनि विवादित विषयहरू टुंगो नलाग्दा बैशाख ९ मा पार्टी एकताको सम्भावना न्यून बन्दै गएको हो।

 

गत चैत २२ गते पार्टी एकता संयोजन समितिको बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि विवादित विषयको टुंगो लगाएर एकता बैशाख ९ मै एकता घोषणा गर्ने जनाएको थियो। तर, प्रधानमन्त्री ओली स्वदेश फर्किएको चार दिन वितिसक्दा पनि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन।

 

पार्टीको विधान, संगठनको ढाँचा र पार्टीको आगामी कार्यदिशा तयार पार्न बनेको राजनीतिक प्रतिवेदन कार्यदल र सांगठनिक प्रतिवेदन कार्यदलले आफ्नो काम सकेर एकता संयोजन समितिलाई बुझाएका छन्। तर यी दुई कार्यदलले मिल्न नसकेका केही विषय भने एकता संयोजन समितिलाई नै जिम्मा दिएको थियो।

 

कार्यदलले पार्टी एकताका लागि ऐतिहासिक हिसाबले बैशाख ९ ठीक भएको भन्दै बैशाख ९ मा एकीकृत पार्टीको घोषणा गर्न सुझाव दिएको थियो। त्यहीअनुसार प्रधानमन्त्रीको भारत भ्रमणअघि बसेको एकता संयोजन समितिको बैठकले पनि दुवै दललाई बैशाख ९ गते पार्टी एकताका लागि आन्तरिक तयारी गर्न निर्देशन दिएको थियो। तर एकता संयोजन समितिले भने हालसम्म टुंगो लाग्न नसकेका विषयमा भने छलफलसमेत गर्न सकेको छैन।

 

बुधबार साँझ एकता संयोजन समितिको बैठक बोलाइएको भए पनि नेताहरूको कार्य व्यवस्तताका कारण बस्न सकेन। यस्तै, बुधबार साँझको बैठकका लागि एकता संयोजन समितिका केही सदस्यहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगे। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी परेपछि बैठक बस्न सकेन।

 

प्रचण्ड केही दिनदेखि भाइरल ज्वरोबाट पीडित बनेका उनको सचिवालयले जनाएको छ। बुधबार बस्न नसकेको एकता संयोजन समितिको बैठक अझै केही दिन बस्ने सम्भावना न्यून छ। माओवादी अध्यक्ष प्रचण्ड चितवन गएकाले केही दिन एकता संयोजन समितिको बैठक बस्ने सम्भावना ज्यून भएको स्रोतले बताएको छ।

 

प्रचण्ड आफ्ना माहिला साला महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आयोजित श्रद्धाञ्जलिसभामा भाग लिन चितवन गएका हुन्। उनी शुक्रबार साँझ मात्र काठमाडौं फर्कनेछन्। यस्तै, प्रधानमन्त्री ओली पनि शनिबार कर्णाली पर्यटन वर्षको उद्घाटन लागि रारा जाने कार्यक्रम भएकाले केही दिन बैठक बस्ने सम्भावना न्यून रहेको पार्टी निकट स्रोतले जनाएको छ।
 

एमाले माओवादी एकता

विशेष