राजनीति

जनताले उठाएको राजश्वमा विदेश भ्रमण जान स्वीकृति छैन: मन्त्री पण्डितले

जनताले उठाएको राजश्वमा विदेश भ्रमण जान स्वीकृति छैन: मन्त्री पण्डितले

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालय मातहतका विभिन्न निकायबाट गरिने विदेश भ्रमणका कार्यक्रम रोकेका छन्। विभिन्न कार्यक्रमका नाममा गरिने विदेश भ्रमण कार्यविधि निर्माण नहुँदासम्मका लागि मन्त्री पण्डितले भ्रमण रोक गरेका हुन्। 

 

जसअन्तर्गत मन्त्री पण्डितले हाल पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विदेश भ्रमण रोक्का गरेका छन्। जसअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाको नगरपालिकाका कार्यकारी अधिकृतसहित पाँच जनाको अमेरिका भ्रमण, धुलीखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जुसहित दुई जनाको इण्डोनेसिया र मलेसियाको भ्रमण रोक्का गरेका हुन्।


 मन्त्री पण्डितले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडसहित चार जनाको ताइवान भ्रमण, भरतपुर महानगरपालिकाका १ प्रतिनिधिको थाइल्याण्ड भ्रमण र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण रोक्का गरेका छन्। 


समान्य प्रशासन मन्त्री पण्डितले विदेश भ्रमणका लागि मन्त्रालयले निर्माण गर्दै गरेको कार्यविधि निर्माण भएर लागु नहुदासम्म हालका लागि सम्पुर्ण विदेश भ्रमण रोक्का गरिएको बताएका छन्। उनले स्विजरल्याण्डको जेनेभामा हुने आफ्नो विदेश भ्रमण समेत स्थगित गरी माथहतका सबै निकायबाट हुने विदेश भ्रमण रोक्का गरेका हुन्। 


मन्त्री पण्डित सहित विभिन्न मन्त्रालयका प्रतिनिधि सम्मिलित ८ सदस्यीय टोली जातीय विभेद विरुद्धको अन्तराष्ट्रिय महासन्धी सम्बन्धी हरेक २/२ वर्षमा गरिने प्रगति प्रतिवेदन सम्बन्धी कार्यक्रममा पक्ष राष्ट्रका हिसाबले बैशाख १५ देखि १७ गतेसम्म हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। 


विभिन्न कार्यक्रमका नाममा हुने विदेश भ्रमणमा स्थानीय स्रोतका नाममा जनताको पैसा खर्च भइरहेको भन्दै मन्त्री पण्डितले भ्रमण कार्यविधि नबन्दासम्म कुनै पनि विदेश भ्रमणका कार्यक्रम मन्त्रालयका तर्फबाट स्वीकृत नहुने बताए।

 

 'विदेश भ्रमणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ। कार्यविधि बनेपछि त्यसअनुसार विदेश भ्रमणलाई अगाडि बढाउछौँ', उनले भने, 'हालका लागि सबै विदेश भ्रमणका कार्यक्रम रोक्का गरिएको छ। जनताले उठाएको राजश्व अनावस्यक ठाउँमा खर्च हुने कुरामा हामी स्वीकृति दिँदैनौँ।'
 

लालबाबु पण्डित विदेश भ्रमण स्वीकृति

विशेष