१२ वर्षदेखिको सुरक्षा घेरा तोडे बाबुरामले

काठमाडौं । करिब १२ वर्षदेखि सुरक्षा घेरमा हिँडिरहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले आजदेखि सुरक्षा घेरामा नहिँड्ने निधो गरेका छन् । बिहीबार आफुलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीलाई औपचारिक रुपमै विदाई गर्दै संयोजक भट्टराईले सो निर्णय गरेका हुन् ।
नयाँ शक्ति पार्टीको नेतृत्व गर्नुअघि नेता भट्टराईलाई सरकारले तत्कालीन माओवादी नेताको उच्च नेतृत्वको हैसियतमा सुरक्षाकर्मीको टुकडी खटाएको थियो । शान्ति प्रक्रियामा आएयता उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सुरक्षा दिएको थियो । पछिल्लो समयमा भने उनलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा सरकारले २९ जना सुरक्षाकर्मी खटाएको थियो ।
नेता भट्टराईले बिहीबार बिशालनगरस्थित आफ्नो निवासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सबै सुरक्षाकर्मीलाई विदाई गरेका छन् । उनले १२ वर्षदेखि सुरक्षा दिने सबै सुरक्षाकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए ।
भट्टराईको सुरक्षाका लागि पछिल्लो समयमा नेपाल प्रहरीबाट निरीक्षक चन्द्र केसीको नेतृत्वमा १० र सशस्त्र प्रहरीका निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा १९ जना गरी २९ जना तैनाथ थिए ।