पदाधिकारी मनोनीत गर्ने तयारीमा देउवा, क–कसलाई रोजे ?
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेको छ ।
पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो ।
निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएको केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए ।
सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ ।
विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । उपसभापतिमा दाबी गरिरहेका खड्काको निधनपछि निधिको बाटो सहज भएको हो । त्यसो त गोपालमान श्रेष्ठ पनि दाबेदार थिए, तर उनीसँग सहमति लिएर देउवाले निधिलाई रोजेका हुन् ।
तर, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए ।
तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए । त्यसो त नातेदारसमेत रहेका कार्कीलाई महामन्त्री बनाउने आश्वासन देउवाले सभापतिमा निर्वाचित भएदेखि नै दिँदै आएका थिए ।
तर, सरकारको नेतृत्व गर्दा अर्थमन्त्री बनेका कार्कीले सहयोग नगरेको भन्दै देउवा रुष्ट छन् । कार्कीले श्रीमती डा. आरजु राणा देउवाले भनेको काम गरेको, तर आफूले भनेको नटेरेको उनको निष्कर्ष छ ।
हालै दुवै नेताले देउवालाई भेटेर पदाधिकारीमा नसमेटेको भन्दै असन्तुष्टि जनाएको बूढानीलकण्ठ स्रोतले बतायो । यता सहमहामन्त्रीमा विश्वकर्माको नाम अगाडि सारेपछि एनपी साउद र डा. प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् ।
शेरबहादुर देउवा