राजनीति प्रदेश ६

नयाँ वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली रारा पुगे

नयाँ वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली रारा पुगे

सुर्खेत ।  प्रधानमन्त्री केपी शर्मा ओली नयाँ वर्षको पूर्वसन्ध्यामा मुगुको रारा पुगेका छन्। कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका लागि उनी शुक्रबार नै रारा पुगेका हुन्।

 

कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको शनिबार वैशाख १ गते ओलीले उद्घाटन गर्दैछन्। प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वसभामुख सुवास नेम्वाङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, सबै मन्त्रीसहितहरु सांसदहरु रारा पुगेका छन्।

 

विशिष्ट अतिथिहरु सबै रारा पुगिसकेको जानकारी दिँदै पर्यटन वर्ष घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताए।

 

पर्यटन वर्षलाई लक्षित गरी रारा अस्थायी होटेल तथा रिसोर्टहरु सञ्चालन गरिएको छ। नयाँ वर्षसँगै प्रदेश सरकारको निमन्त्रणमा आउने पाहुनाहरुलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ। रारा ताल नजिकै करिब डेढ सय टेन्ट राखिएको छ।

 

प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ।

 

मन्त्री बुढाका अनुसार सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतलाई टेन्टमा बसाल्ने तयारी गरिएको छ । उनले पर्यटन वर्ष उद्घाटनको सबै तयारी पूरा भएको जनाए । त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

 

प्रधानमन्त्री ओलीले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्नुका साथै रारामा नै बस्ने कर्णाली प्रदेश सरकारको वैठकमा समेत सहभागिता जनाउनेछन् । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बस्नेछ । प्रदेश सरकारले केन्द्रीय सरकारको कुल बजेटको ५० प्रतिशत बजेट कर्णालीका लागि छुट्याउनुपर्ने, मुगुको तिब्बत नाका नाक्चेनाङ्गलालाई राष्ट्रिय प्राथमिकतामा पार्नुर्ने लगायतका माग प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरेको छ ।

 

त्यसअघि प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । रारामा प्रधानमन्त्रीले बोटिङ समेत गर्ने कार्यतालिका छ । दिउँसो १२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्नेछन् । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्दैछ जसको अध्यक्षता प्रधामन्त्रीले गर्नेछन् ।

केपी शर्मा ओली नयाँ वर्ष रारा पर्यटन वर्ष २०७५

विशेष