प्रधानमन्त्री अाेलीसँग प्रचण्डकाे डर
काठमाडौं । लगातार तीन दिनसम्म एमाले र माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपछि वैशाख ९ गतेको एकता घोषणा संशयको घेरामा परेको छ । कतै पार्टी एकता नै बिथोलिने त होइन भन्ने आशंका सर्वत्र उत्पन्न भएको छ ।
खासगरी अहिले दुई पार्टीको अस्तित्व हुँदा त एमाले अध्यक्ष केपी ओलीले निकै पेलेको महसुस गरेको माओवादीले एक हुँदा कसरी त्यसलाई बेहोर्ने भन्ने डर र चिन्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको छ । सरकार सञ्चालनमा ओली निकै कडा रूपमा प्रस्तुत भएका छन् । उनले माओवादी मन्त्रीहरूसँग सल्लाह गर्न आवश्यक नै ठानेका छैनन् । यस्तो अवस्थामा झन् पार्टी एकता भएमा ओलीको पेलाई निकै हुने डर प्रचण्ड मात्र होइन, माओवादी केन्द्रका अन्य नेतामा पनि देखिन थालेको छ ।
सरकार सञ्चालनमा ओली एकल हिरो बन्न खोजेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले कडा असन्तुष्टि जनाएपछि माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि अहिले चुपचाप छन् । उनी वाम गठबन्धनका सूत्राधारमध्येका एक हुन् । उनले कुनै पनि हालतमा वैशाख ९ गते नै पार्टी एकता हुने बताउँदै आएका थिए । तर, बादल कडा ढंगले प्रस्तुत भएपछि श्रेष्ठ पनि मौन बसेका छन् ।
माओवादी केन्द्रका मात्र होइन, एमालेकै वरिष्ठ नेताहरू यतिखेर पार्टी एकताबारे मौन छन् । उनीहरूले कुनै धारणा बाहिर ल्याएका छैनन् । वरिष्ठ नेता झलनाथ खनालले त आफूलाई यसबारे कुनै जानकारी नभएको सार्वजनिक रूपमै बताइसकेका छन् । हालै चीनबाट फर्किएका माधवकुमार नेपाल पनि मौन बसेका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमको भूमिका कतै देखिन्न । पछिल्लो समय केपी ओलीको उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलसँग पनि सम्बन्धमा दरार आएको एमाले नेताहरूले महसुस गरेका छन् ।
पार्टी एकीकरण हुन नदिन बाह्य शक्तिहरू सक्रिय भएर लागेको देखिए पनि प्रचण्डले ५० प्रतिशतको सर्त राखेर अड्डी कसेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली रिसाएका छन् । अचेल ओली र प्रचण्डबीच टेलिफोनमा मात्रै कुराकानी सीमित भएको छ । सकभर पार्टी एकता नगर्ने, यदि एकीकरण भइहाल्यो भने एकीकरणपछि पनि पार्टी फोड्न सकिने गरी (पार्टी फोड्न ४० प्रतिशत चाहिने) बार्गेनिङ पावर सुरक्षित राखेर प्रचण्डले आफ्नो अडान राखिरहेको एमाले नेताहरूको बुझाई छ ।
पार्टी एकता माओवादी केन्द्र नेकपा एमाले