राजनीति

दाहालसामु बाँदरमुढे घटना पीडितको आग्रह- 'आश्वासनमात्रै नदिनुस्'

दाहालसामु बाँदरमुढे घटना पीडितको आग्रह- 'आश्वासनमात्रै नदिनुस्'

चितवन । माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेलामा भएको बाँदरमुढे घटनाका पीडितहरुले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई घटना पीडितका सम्बन्धमा गर्न सक्ने कुरामात्रै बोल्न अपील गरेका छन् ।

 

‘सक्ने कुरा छ भने बोल्नुस्, नभए हात झिक्नुस्, यो गर्छु र उसो गर्छु मात्रै नभन्नुस्’ घटनाका पीडित मैना लामिछानेले दाहाललाई भनिन् । दाहालले शुक्रबार माडीमा घटनाका पीडितहरुसँग बैठक र छलफल गरेका थिए । दाहालले पीडितलाई माडीमै भेटेको यो दोस्रो पटक हो । वि‍. सं. २०६२ सालको जेठ २३ मा माडीकै बाँदरमुढे खोलामा यात्रुबस माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो । घटनामा ७२ जना घाइते भएका थिए ।


घटनापछि तत्कालै दु:ख मनाउ गर्दै दाहालले माफी नै मागेका थिए । अनुकूल समयमा माडीमै गएर पीडितलाई भेटेर क्षमा माग्ने उनले बताएका थिए । तर, युद्ध विरामपछि ०६३ सालको कात्तिकमा माडीभन्दा टाढा भरतपुरको फुलबारीमा भेटेर कुरा गर्नुबाहेक दाहाल पीडितलाई भेट्न माडी जान सकेका थिएनन् । संसदीय चुनावमा दाहाल माडीसमेत पर्ने चितवनको क्षेत्र नं. ३ का उम्मेदवार थिए ।


दाहालले मतदानभन्दा केही दिनअघि मात्रै मंसिर १७ गते पीडितमध्येका केही परिवारलाई भेटेर लिखित सहमति गरेका थिए । त्यसपछि उनले शुक्रबार माडीमै पीडितहरुलाई भेटेर खुला छलफल गरेका हुन् । छलफलमा मंसिर १७ मा भएको सहमतिपछि भएका कामका विषयमा जानकारी गराउनुका साथै पीडितहरुले पनि दाहालसामु पहिलो पटक खुलेर आफ्ना पीडा व्यथाहरु राखे ।‘म बाँदरमुढे घटना पीडितकातर्फबाट गठन भएको संघर्ष समितिको संयोजक पनि हुँ । तर माडीमा म माओवादी अध्यक्ष दाहालसँग आज बल्ल पहिलो पटक खुलेर कुरा गर्न पाएको छु’ मुक्ति न्यौपानेले छलफलमा भने । दाहाल माडी आउँदा आफूलाई घरभित्रै ‘नजरबन्द’मा राख्ने काम भएको भनेर उनले दुखेसो गरे ।


‘म हिजो भारतमा माओवादी नेता नारायण दाहालसँगै बसेर पार्टीको काम गरेको मान्छे पनि हो । तर यो घटनापछि पार्टीले हामीलाई अर्कै व्यवहार गर्‍यो । यही चुनावमा अध्यक्ष दाहाल माडी आउँदा प्रहरी, म्यादी प्रहरी मात्रै नभएर वाईसीएलका भाइहरु गएर मेरो घर घेरा हाले’ न्यौपानेले भने । मंसिर १७ मा सहमति गर्ने कार्यक्रममा न्यौपाने पनि थिएनन् ।


उक्त सहमति अनुसार पीडितको अवस्था अध्ययन गर्नका लागि गठन भएको समितिमा भने न्यौपाने बसेका थिए । पीडितका तीन, माओवादीका तीनजना समेटेर बनेको समितिको संयोजकमा माडी नगरपालिकाका मेयर ठाकुर ढकाल थिए ।उक्त समितिले तयार पारेको पीडितको अवस्था अध्ययन र चाहनाका विषयहरु समेटेर बनाएको प्रतिवेदन शुक्रबार दाहाललाई बुझाएको छ ।


छलफलमा पुगेकी लक्ष्मी अधिकारी पौडेलले घटनामा परे पनि आफूले अहिलेसम्म राहतका नाममा पाँच हजार रुपैयाँबाहेक नपाएको बताइन् । ‘म सुत्केरी भएर माइत बस्न आएकी थिएँ । घर फर्कंदा काखमा चार महिनाकी छोरी थिइ । विष्फोटपछि बालुवामा पुरिएकी छोरीलाई निकालेर बल्ल बल्ल जोगायौं । अहिले उसको आँखा कमजोर छ । राहत पाँच हजारमात्रै पाएको हो,’ लक्ष्मीले भनिन् ।


घटनामा बाबुआमा गुमाएका विश्वनाथ पौडेलले बाबुको नामको राहत स्वरुप १० लाख रुपैयाँ बुझे पनि आमाको नामको राहत अझै नपाएको बताए । ‘यहाँ सबैका पीडा छन् । मरेका मान्छेका परिवारले राहत पाएका छैनन् । घाइतेका घाउ बल्झेका छन् । त्यस्तालाई उपचार खर्च छैन । सरकारी अस्पतालमा भए पनि नि:शुल्क उपचारको व्यवस्था होस्’ पीडित मैना लामिछानेले भनिन् ।


उनले पीडितलाई छलफलका लागि मात्रै भनेर बोलाउन बन्द गर्न पनि भनिन् । ‘बोलाउनु हुन्छ तर के गर्नु आउने गाडी भाडा पनि छैन । आएर के गर्नु हामीले मागेका र तपाईहरुले दिन्छु, गर्छु भनेका कुरा खै पूरा नै हुँदैनन्’ लामिछानेले भनिन् ।


माओवादी अध्यक्ष दाहालले पीडितसँग भेटघाट र छलफल अझै धेरै गर्न आफू तयार रहेको बताए । ‘बहस छलफल अझै गर्नु पर्छ । खर्चको पिर गर्नु भयो । बरु छलफल हुँदाका दिन लाग्ने खर्च सरकारको नभएर पार्टीको कोषबाट बेहोर्ने गरेरै कार्यक्रम राखौंला’ दाहालले भने । उनले यो सामान्य घटना नभएर ‘जनयुद्धकालकै’ सबैभन्दा गम्भीर भूल भएको भनेर आफूले दु:ख मनाउ गरेको बताए ।


उनले आफू यही क्षेत्रबाट सासंदसमेत भएका कारण अब पीडितले भने जसरी नै राहतको प्रबन्ध हुने बताए ।


माडी नगरपालिकाका मेयर ठाकुर ढकालका अनुसार लगभग महिना दिन मेहनत गरेर घटनाका पीडित भएका चितवनदेखि झापासम्मका १४७ घरमा पुगेर विवरण संकलन गरिएको छ । ‘विवरण संकलन भएकामध्ये ९० प्रतिशतले न्याय र राहतका कुरा गरेका छन् । रोजगार र खर्चका कुरा पनि छन् । हेरौं अब हाम्रो चाहना के कसरी सम्बोधन हुन्छ’ मुक्ति न्यौपानेले भने ।

पुष्पकमल दाहाल बाँदरमुढे घटना पीडित

विशेष