राजनीति प्रदेश ६

कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने योजना छ : प्रधानमन्त्री ओली

कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने योजना छ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने योजना रहेको बताएका छन्।

 

'कर्णाली प्रदेशलाई विषादीमुक्त प्रदेश बनाउन सकिन्छ', सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने हाम्रो योजना छ।'


अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको उनले बताए।

 

मध्यपश्चिम विश्वविद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा सबै प्रकारले देशको मुलधारमा जोडिने प्रतिबद्धतासमेत व्यक्त गरे।

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकासका लागि बस्ती आधुनिक ढंगले बिस्तार गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकट भूगोलका कारण अहिलेकै अवस्थामा सबै जनतालाई विकासको पूर्वाधार पुर्‍याउन मुस्किल भएकाले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए।

 

'कर्णाली आर्थिक र मानव विकास सुचकांकका दृष्टिले पछाडि परेको छ', प्रधानमन्त्री ओलीले भने, 'तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ।'

 

कर्णाली प्रदेशको सीमाना दक्षिणी छिमेकीसँग नजोडिएकाले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। 'कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसँग जोडिएको छैन', उनले भने, 'त्यसकारण उत्तरी छिमेकीसँगका नाका खोल्नुपर्छ।'

 

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे। आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहाँको भूगोल, जनजीवन, सम्भावना, चुनौति आदि पक्षका बारेमा  प्रत्यक्ष जानकारी लिन पाएको बताए।

 

'समृद्ध कर्णाली बनाउन जनप्रतिनिधिहरुले अगुवाइ गर्नुहोस्', प्रधानमन्त्री ओलीले भने, 'यहाँको कृषि, जडिबुटी, पर्यटन, उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनु पर्दछ।'

 

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, विश्वविद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गिरिराजमणि पोखरेल,पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री कर्णाली प्रदेश केपीशर्मा ओली विषादीमुक्त

विशेष