राजनीति

अाेली-प्रचण्ड वार्ताः प्रचण्डकाे मागमा अाेलीले दिए यस्ताे जवाफ

अाेली-प्रचण्ड वार्ताः प्रचण्डकाे मागमा अाेलीले दिए यस्ताे जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे वार्ता बिना निस्कर्ष टुंगिएकाे छ । 

 

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटरमा ओली र प्रचण्डबीच भएकाे वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति हुन नसकेकाे हाे ।

 

स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले एकताको क्रममा गठन हुने केन्द्रीय कमिटीमा समान हैसियत अर्थात ५०/५० को अनुपातमा हुनुपर्ने प्रस्ताव राखे पनि प्रधानमन्त्री ओलीले त्यस विषयमा थप छलफलको आवश्यकता रहेको जवाफ दिएका छन्। 


यस्तै यसअघिको सहमति अनुसार एकीकृत पार्टीको नेतृत्व आफूहरु दुवै जनाले गर्ने भए कसले के गर्ने भन्नेबारे स्पष्ट कार्यदेश बनाउनु पर्ने प्रस्ताव दाहालले ओलीसमक्ष राखेका थिए।

 

सरकारको कार्यशैली प्रष्ट हुनुपर्ने, जनयुद्ध र जनआन्दोलनको योगदानको बुझाइमा एमाले र माओवादीको एकै समझदारी हुनुपर्ने जस्ता प्रस्ताव समेत दाहालले राखेका थिए।

 

तर, प्रधानमन्त्री ओलीले ती विषयमा पनि थप छलफलकै आवश्यकता रहेको बताएका थिए। छलफलले निष्कर्षको रुप लिने नसकेपछि प्रधानमन्त्री ओली र दाहालले मंगलबार ९ बजे एकता संयोजन समितिको बैठक बाेलाएका छन् ।

 

छलफलका लागि माओवादी अध्यक्ष दाहाल सिन्धुपाल्चोकको सुकुटेमा एक रात आराम गरेपछि फोन मार्फत कुरा गरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न ओली निवास बालुवाटारमा बिहान साढे १० बजे पुगेका थिए। 

 

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको छलफल निष्कर्षबिहीन भएपछि पूर्व घोषित मिति वैशाख नौ गते नै पार्टी एकता हुनेमा भने आंशका झन बाक्लिएको छ।

 

यसअघि आइतबार बिहान हुने भनिएको एमाले र माओवादी वार्ता आरामका लागि दाहाल सुकुटे पुगेपछि  स्थगित भएको थियो । गत चैत २१ गते बाम गठबन्धनका शीर्ष नेताहरु वैशाख ९ गते पार्टी एकीकरणलाई औपचारिकता दिने घोषणा गरेका थिए।

 


त्यसपछि प्रधानमन्त्री ओलीको भारत भम्रण, काठमाडौं फर्केपछि बढेको उनको व्यस्तता र रारा भ्रमणले पार्टी एकताबारे माओवादी अध्यक्ष दाहालसँग छलफल हुन सकेको थिएन।

 

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि एकतामा बाधक बनिरहेका प्राविधिक विषयमा थप छलफल गरी सहमतिमा पुग्नका लागि डाक्ने भनिएको एकता संयोजन समितिको बैठक समेत बस्न नसक्दा तोकिएकै मितिमा एकता हुने आशंका उब्जिएको हो।


 

अाेली प्रचण्ड

विशेष