राजनीति

कार्यकर्ताको दबाब, प्रचण्डलाई भन्दा ओलीलाई बढी

ओलीले अब आफ्नैबाट सैद्धान्तिक झमेला पनि झेल्नु पर्नेछ

कार्यकर्ताको दबाब, प्रचण्डलाई भन्दा ओलीलाई बढी

काठमाडौं । वाम एकताका लागि चरणबद्ध रुपमा एमाले र माओवादीका नेताहरु बैठक बसे पनि तात्विक उपलब्धि हुन सकेको छैन । सोमबार मात्रै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारस्थित बैठकमा जुटे । तर बैठक चिया–नास्तामै टुंगियो ।

 

सुकुटे बिचमा पुगी फ्रेस मूड बनाएर बैठकमा फर्केका प्रचण्ड बैठकमा प्रस्तुत हुनुअघिसम्म आफ्नो पार्टीका थुप्रै नेता–कार्यकर्ताको दबाबमा थिए । उनी कुनै न कुनै रुपमा आफ्ना सहयोद्धालाई ‘सेटल’ गर्नैपर्ने दबाबमा छन् ।

 

ओलीलाई झन दबाब


प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली यसअघिका प्रधानमन्त्री वा पार्टी अध्यक्ष भन्दा भिन्न रुपमा देखिएका छन् । यतिसम्म कि, ‘पूर्व राजा महेन्द्र भन्दा पनि बढी शक्तिशाली’ भनेर समेत टिप्पणी हुन थालेको छ ।

 

कुनै बेला एमालेमा ‘गुट’ चलाएरै चित्त बुझाएका ओली अहिले देशकै सर्वशक्तिमान भुमिकामा छन् । त्यसो त उनको शक्ति अभ्यास अनपेक्षित पनि छ ।


तर उनकै पार्टीभित्र पछिल्लो समय उनको शक्तिशाली भुमिकालाई लिएर असन्तुष्टि सुरु भएको छ । केही नेताहरु सार्वजनिक रुपमै उनको भुमिकाबारे आलोचना गर्न थालेका छन् ।

 

केही अघिसम्म ओलीको समृद्धियात्राका सारथि बन्न तयार देखिएका एमालेका प्रभावशाली नेताहरु नै अहिले ओलीको भुमिकाको ब्यंग्य गर्न थालेका छन् ।

 

भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत नेताहरु ओलीलाई खुलेर आलोचना गर्न थालेका हुन् । ओलीले भन्दैआएको ‘समृद्धि सपना’माथि भुसालले खुलेरै विरोध गर्न थालेका छन् भने रावल ओलीको भारत भ्रमणलाई लिएर आक्रोशित नै बन्न थालेका छन् ।

 

मन्त्री नपाएपछि चिढिए


ओलीले सबै पक्ष ९गुट०लाई समेटेर सरकार विस्तार गर्लान् भन्ने धेरैलाई लागेको थियो । माधव नेपाल निकट चिनिएका योगेश भट्टराईलाई त ‘संचारमन्त्री बनाउँछु’ नै भनेका थिए ।

 

मन्त्री बनाउने बचन नै दिएका ओलीले सल्लाह समेत नगरी विरोधी ‘गुट’का नेतालाई पेल्न थालेपछि उनीहरु रुष्ट भएका हुन् । माओवादीको तर्फबाट मन्त्री बनेकाहरुले आफूखुसी सरकार चलाएको भन्दै गुनासो गरिरहँदा एमालेकै नेता–कार्यकर्ता ओलीसँग रिसाउँदा ओलीलाई थप दबाब महसुश भएको छ ।

 

चुनावपछि समेत ओलीको ‘राष्ट्रवादी नारा’ र ‘समृद्धि सपना’को प्रशंसा गर्दै हिँड्ने नेताहरु अब ओलीलाई शक्तिशालीको नाममा तानाशाही बन्न थालेको भन्दै आलोचना गर्दैआएका छन् ।

 

यसरी एमालेकै नेताहरुले ओलीको विपक्षमा खुलेर बोल्न थालेपछि ओली थप असुरक्षित महसुश गर्न थालेका छन् । प्रचण्डको चलखेल, माधव नेपाल र वामदेव गौतमको घुर्कीका बीच ओली आफूलाई केन्द्रमै राख्दैआएका थिए ।

 

तर एमालेका प्रभावशाली भनी चिनिएका युवा नेताहरु नै खुलेर बोल्न थालेपछि अप्ठ्यारो देखिएको छ । सबैभन्दा बढी आरोप उनी शक्तिशालीको नाममा निरंकुश बन्दैगएको भन्ने नै छ ।

 

यस्तो अवस्थामा प्रचण्डलाई एकतामा ल्याउने, माधव नेपाल÷वामदेव गौतमलाई फकाउने र पार्टीकै अरु नेता–कार्यकर्ताको दबाब चिर्नुपर्ने चौतर्फी घेरामा ओली छन् । जुन धर्मसंकटबाट मुक्त हुनुअघि नै उनी पार्टीमा कमजोर सावित भइसक्ने छन् ।

 

प्रचण्डलाई भन्दा ओलीलाई गाह्रो


एमाले–माओवादीका नेताहरुले भन्न नसक्ने तर सबैले बुझेको के छ भने, ओली र प्रचण्डको कुरा मिल्नासाथ वाम एकता भइहाल्छ । यसका लागि दुबैलाई आआफ्नै पार्टीका नेता–कार्यकर्ताबाट धेरै सम्झौता नगर्न दबाब छ ।

 

प्रचण्डलाई आफ्ना कार्यकर्ता ‘सेटल’गर्नुपर्ने दबाब छ भने ओलीलाई पार्टी र सरकारमा समेत ‘सेटल’ गराउनुपर्ने चुनौती । यसबाहेक उनलाई अर्को चुनौती थपिएको छ । त्यो हो, समृद्धि सपना र राष्ट्रवादको सैद्धान्तिक पुष्टि ।

 

भुसाल लगायत नेताहरु पदीय भागबण्डाको गुनासो सैद्धान्तिक ‘लेन्स’मार्फत गर्दैछन् । उनले हालै समृद्धि सपनामाथि गरेको पटाक्षेप पनि यसकै एक उदाहरण हो ।

 

त्यसो त, माओवादीमा प्रचण्डलाई भन्दा बढी चुनौती एमालेमा ओलीलाई नै छ । प्रचण्डसँग घुर्की लगाउने जति सुविधा छ, ओलीसँग छैन । अर्कोतर्फ, प्रचण्डले आफू निकट नेतालाई सरकारमै ‘सेटल’ गराइसके । ओलीलाई थप सैद्धान्तिक झमेला पनि झेल्नुपर्ने छ ।

 

प्रचण्ड आफ्ना पार्टी सदस्यहरुसँग एक्लै डील गर्न सक्छन् । तर ओलीका लागि यस्तो सुविधा छैन । माधव नेपाल, वामदेव, झलनाथ, भुसाल लगायत थुप्रै नेताहरुसँग फेस गर्नुपर्ने ओलीको लागि व्यवस्थापनको चुनौती हो । यस हिसावले पनि वाम एकतामा प्रचण्डलाई जति दबाब छ त्यसभन्दा बढी ओलीलाई छ ।

 

वाम एकता प्रचण्ड केपी ओली

विशेष