राजनीति

एमाले–माओवादी बैठक जारी, यस्ता छन् माग र अडान

एमाले–माओवादी बैठक जारी, यस्ता छन् माग र अडान

काठमाडाैं । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी छ । एकताका लागि मिल्न नसकेका विषयहरुमा  छलफल भइरहेकाे छ ।

 

सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकतामा देखिएका विवादित विषयकाे गाँठो फुकाउन छलफल भएको थियो ।

 

सोमबारको छलफलमा खासै प्रगति नभए पनि मिल्न बाँकी विषयका बारेमा दुई शीर्ष नेताबिच गम्भीर छलफल भएको नेताहरुले बताएका छन् ।


दुई अध्यक्षबीचको छलफलपछि अाजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । केही समयदेखिको संवादहीनताको बीचमा बैठक हुन लागेकाले चासाेका साथ हेरिएको छ ।

 

बैठकले एकीकृत पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने र संयोजित पार्टीमा आफ्नो अनुपातसहित चुनाव चिन्हबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ ।

 

वैशाख ९ गते औपचारिक रुपमा वाम एकताको घोषणा हुने यसअघि नै दुवै पार्टीले बताएका छन् । यसको तयारी स्वरुप एमालेले सोमबार बेलुका अबेरसम्म स्थायी समितिमा छलफल गरेको थियो । 

 

त्यसमा नेताहरुले माओवादीले बाहिर आएजस्तो प्रस्ताव गरेको भए त्यसलाई कुनै पनि हालतमा मान्न नहुने बताएको बुझिएको छ । दुई पार्टी बिच जनयुद्ध र संयोजित पार्टीमा आफ्नो अनुपातसहित चुनाव चिन्हको बारेमा पनि कुरा मिल्न सकेको छैन ।

 


एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

एमाले–माओवादी

विशेष