राजनीति

वाम एकताः यसकारण लाग्यो ‘ब्रेक’ !

वाम एकताः यसकारण लाग्यो ‘ब्रेक’ !

काठमाडौं । वैशाख ९ गते घोषित नेकपा एमाले र माओवादी केन्द्रबिचकाे पार्टी एकता अझै सर्ने देखिएकाे छ । मंगलबार बसेको एकता संयोजन समितिको बैठकले मिल्न बाँकी विषयले पूर्णता पाउन नसकेपछि पार्टी एकता घोषणा हुने सम्भावना लगभग सकिएको हो ।

 

बैठकमा पार्टी एकताका लागि मस्यौदा बनाउन बनाइएको दुवै पार्टीका कार्यदलले अध्यक्षलाई प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदनमाथि दुई अध्यक्ष ओली र प्रचण्डले अध्ययन गरेर छलफल गर्नुपर्ने भएकाले एकता प्रक्रिया लम्बिने देखिएको बैठकमा सहभागी नेताले बताएका छन् ।

 

यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यसपछि विभिन्न कार्यक्रमको व्यस्तता तथा प्रचण्डको पनि व्यस्तताका कारण छलफलमा ढिलाइ हुँदा पनि तोकिएको वैशाख ९ मा एकताको औपचारिक घोषणा नहुने देखिएको हो ।

 

मंगलबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको र अब फाइनल टच दिन मात्रै बाँकी रहेको कार्यदलका सदस्य तथा एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए ।

 

यस्तै कार्यदलका सदस्य तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूहरुले प्रतिवेदन बुझाएको र केही विषयमा अझै छलफलको खाँचो रहेको प्रतिक्रिया दिएका छन् ।

 

एकताको हलोमा अड्किएको मानिएको पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने र केन्द्रीय समिति र पार्टीका अरु निकायमा दुई पार्टीको अनुपातबारे मंगलबारको एकता संयोजन समितिको बैठकमा छलफल भएको बुझिएको छ ।

 

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल तथा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल सहभागी थिए ।

 

दुई पार्टी बिच जनयुद्ध र संयोजित पार्टीमा आफ्नो अनुपातसहित चुनाव चिन्हको बारेमा पनि कुरा मिल्न सकेको छैन । मंगलबार नै दुवै पार्टीमा आन्तरिक छलफल हुने र शीर्ष नेताबिच पनि छलफल हुने सम्भावना छ ।

पार्टी एकता एकता संयोजन समिति

विशेष