राजनीति

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता वैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही वैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले भने,‘केही गृहकार्य गर्न बाँकी रहेकोले यो बैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुँदैन्, हामी चाँडै नै एकता घोषणा गर्छौं।’

 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सापकोटाले पार्टी एकता घोषणा हुनेमा कुनै द्धिविधा नरहेको जिकिर गरे । उनले भने,‘जनताको जनादेश भनेको नै दुई पार्टीबीच एकता होस् भन्ने नै हो, त्यसैले विकास र समृद्धि हाँसिल गर्नुपर्छ, जनताले यी दुई सशक्त कम्युनिष्ट पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन्, हामी सोही अनुरुप नै अघि बढेका छौं।’

 

देश भ्रष्टाचारले आक्रान्त बनेको उल्लेख गर्दै नेता सापकोटाले देश र जनतालाई विकास र समृद्धि दिलाउनको लागि पनि दुईपार्टीबीचको एकता अनिवार्य भएको सुनाए । उनले दुवै पार्टीको ईतिहास गर्विलो र सशक्त भएकोले एकताको मोडालिटी केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म समानताको आधारमा र सम्मानजनक रुपमा हुनुपर्ने स्पष्ट पारे । उनले भने,‘एकता ठीक ढंगले हुनुपर्यो, दुवै पार्टीका साथीहरुलाई आत्मगौरव हुनुपर्छ।’

 

पार्टी एकता भनेको दुवै पार्टीका सकारात्मक कुराहरुलई संश्लेषण मात्रै नभएर रासयनिक प्रतिक्रिया अनुसार विचार, सिद्धान्त र संगठन नयाँ सुरुवात गर्नु भएको सापकोटाको भनाई थियो । दुवै अध्यक्षले आलोपाले बैठकको अध्यक्षता गर्ने पनि समझदारी बनेको उनले सुनाए । सापकोटाले भने,‘एउटा बैठकको अध्यक्षता एउटा अध्यक्षले गर्दा, अर्को बैठकको अध्यक्षता अर्को बैठकले गर्ने उच्च समझदारी कायम गर्ने कुरा भैरहेको छ, औचित्यपुष्टि हुनेगरि कार्यविभाजन हुन्छ।’

 

सापकोटाका अनुसार आजपनि दुई पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भिर र विहंगम छलफल भएको थियो । उनले भने,‘‘केही दिनभित्रै एकताको ‘ब्रेक–थ्रु’ हुन्छ।’’ त्यस्तै उनले एकीकृत पार्टीको चुनाव चिन्ह सुर्य राख्नेबारे पनि छलफल भैरहेकोले सुर्यभित्र हँसिया हथौडा राख्दा सुनमा सुगन्ध हुने बताए ।

 

प्रधानमन्त्रीपनि आलोपालो चलाउनुपर्ने भनेर तपाईहरुले अडान लिनुभएको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले त्यो विषयको औचित्य छैन, जनताले यो विषयमा कुनै चासो दिएका छैनन्, सहमति भैसक्यो, यो कुरामा अहिले छलफल गर्न जरुरी छैन्।’


५०/५० को आधारमा एकता हुँदैन

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०/५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु।’

 


बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले पार्टी एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक हुने भएकोले गणितको आधारमा एकता नहुने स्पष्ट पारे । ‘एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक रह्यो, त्यसैले गणितको आधारमा एकता हुँदैन्’ उनले भने,‘प्रश्न गणितको होईन, हामी योग्य र सक्षम नेताहरुलाई जिम्मेवारी दिन्छौं, संख्या त १/२ जना तलमाथि हुनसक्छ।’

 

उनले दुवै पार्टीका नेताहरुले अब एकता प्रक्रियालाई छामछामछुमछुम पार्न नहुने स्पष्ट पारे । उनले पार्टी एकता बराबरी वा घटी भन्दापनि दुवै पार्टीका नेताहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गर्नेगरि हुने जिकिर गरे । उनले भने,‘एक/दुई जना एमालेका वा एक/दुई जना माओवादीका साथीहरु बढि घटि हुनसक्छन्, संख्याको आधारमा एकता हुँदैन्।’

पार्टी एकता नेकपा माओवादी केन्द्र नेकपा एमाले

विशेष