मुख्य समाचार समाज

गाउँपालिकाकाे १० लाखको चेक लेखापालकै छोराले चोरेपछि...

गाउँपालिकाकाे  १० लाखको चेक लेखापालकै छोराले चोरेपछि...

वीरगञ्ज । पर्सा प्रहरीले सरकारी चेकको दुरुपयोग गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बाराको साविकको रामपूर्वा-५ दक्षिणटोला बस्ने २५ वर्षीय निराजन चौधरी, सेन्चुरी कमर्सियल बैंकका कर्मचारीहरु प्रमेश्वर चौधरी रहेका छन् ।


उनीहरुले छिपहरमाई गाउँपालिकाका लेखापाल जवाहिरप्रसाद तेलीको छोरा २५ वर्षीय विकासकुमार साहसँग मिलेर गाउँपालिका कार्यालयको चेक चोरी गरेर दुरुपयोग गरेको प्रमाण फेला परेकोले पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।


विकासकुमार भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


छिपहरमाई गाउँपालिका कार्यालयको खाता लेखापाल जवाहिरप्रसाद तेली र सोही कार्यालयको निमित्त कार्यालय प्रशासकीय अधिकृत शिव पुजन कानुको दस्तखतबाट संचालित छ ।


गाउँपालिकाको चालु खाता नम्बर १२५०३०२०१६१०२ (राष्ट्रिय बाणिज्य बैकमा) मा रहेको खाताबाट सामाजिक सुरक्षा भत्ताको दोस्रो चौमासिक किस्ता बापत वडा नं. २ सम्भौताको लागि नगद ३१ लाख ७२ हजार निकासा दिनुपर्ने थियो ।


गत चैत २५ गते लेखापाल जवाहिर र निमित्त कार्यालय प्रशासकीय अधिकृत शिवपुजन बसी गाउँपालिका कार्यालयमा बसेर तीनवटा चेक काटी पहिलो चेकमा भए अनुसारको रकम सम्बन्धित वडा सचिवहरुले बाँडेपछि मात्र अर्को चेक दिने सहमति गरेका थिए ।


उनीहरुले सोही दिन चे.नं.२४३२३९०२ बाट १० लाख, चे.नं.२४३२३९०३ बाट १० लाख र चे.नं.२४३२३९०४ बाट ११ लाख ७२ हजारको चेक काटी वडाका सामाजिक परिचालक मनोजकुमार स्वर्णकारलाई दिई बाँकी २ वटा चेक लेखापालले जवाहिरले व्यागमा राखेका थिए ।


गत बैशाख २ गते वडा सचिव मनोज कुमार स्वर्णकारलाई दिनको लागि व्यागमा चेकजाँच गर्दा बाँकी रहेको २ वटा चेक मध्ये चे.नं.२४३२३९०३ बाट १० लाख काटिएको चेक फेला नपरेपछि उनले प्रहरीमा खबर गरेका थिए ।


अनुसन्धानको क्रममा हराएको भनिएको चेक नं.२४३२३९०३ बाट रकम १० लाख मनोज कुमार स्वर्नकार नाम गरेको व्यक्तिले सेन्चुरी कमर्सियल बैकमा खोलेको खाता नम्बर-००६०००१०१५C५ मा जम्मा गरी सम्पूर्ण रकम निकाली सकेको खुलेको प्रहरीले जनाएको छ ।


अनुसन्धभान गर्ने क्रममा लेखापालले व्यागमा राखेको चेक जवाहिरप्रसाद तेलीको आफ्नै छोरा २५ वर्षीय विकासकुमार साह, जिल्ला बारा, साबिक गाबिस.रामपूर्वा वडा नं.५ दक्षिणटोला बस्ने भुवाली चौधरीको छोरा वर्ष २५ को निराजन चौधरी, सेन्चुरी कमर्सियल बैँकको कर्मचारीहरु प्रमेश्वर चौधरी र एक जना नाम नखुलेको व्यक्तिहरु भई मिलोमतोमा रकम झिकेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार सचिव मनोजकुमार स्वर्णकारको नाममा काटिएको चेक अर्का व्यक्तिको नागरिकता फोटोकपीमा टिपेस लगाएर मनोजकुमार स्वर्णकार नाम उल्लेख अकै व्यक्तिको फाटो राखेर ००६०००१०१५C५ नम्बरको खाता खोली सेन्चुरी बैकबाट गत २ गते ६ लाख र ३ गते तीन लाख ९५ हजार झिकेको खुलेको छ ।


प्रहरीले चौधरीद्वयलाई पक्राउ गरी बैकिङ्ग कसुर तथा सजाय अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।


उनीहरुको साथबाट एक हजार दरको नोट थान-७९, मनोज कुमार स्वर्णकारको सेन्चुरी बैकको ७ वटा चेकहरु रहेको चेकबुक, सेन्चुरी बैकको ३ लाख ९५हजार रकमको काटिएको चेक, आईएमईको बीरगंजबाट बिकासकुमार साहले रौतहटका राकेशकुमारको नाममा पठाएको ५० हजारको रकमको भौचर, मनोजकुमार स्वर्णकारको नामको नागरिकता फोटोकपी र मोबाइल समेत बरामद गरेको छ ।

पर्सा प्रहरी छिपहरमाई गाउँपालिका लेखापाल

विशेष