राजनीति

उत्तरगंगा जलाशय विद्युत परियोजना बागलुङमै बन्नुपर्छ : श्रममन्त्री विष्ट

उत्तरगंगा जलाशय विद्युत परियोजना बागलुङमै बन्नुपर्छ : श्रममन्त्री विष्ट

बाग्लुङ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बागलुङको ढोरपाटनमा उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना बागलुङमै बन्नुपर्ने बताएका छन् ।

 

विद्युत परियोजनालाई लिएर पछिल्लो समय संशय उत्पन्न भैरहेको अवस्थामा नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका विष्टले जिल्लाको खर्वाङमा अगुवा कार्यकर्ताहरुलार्इ सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

 

परियोजना बागलुङतर्फ सञ्चालन गर्ने कि रुकुमतिर गर्ने भन्ने विषयमा विवाद भैरहेको चर्चा गर्दै विष्टले जनतालाई समेत सचेत हुन आग्रह गरे । उनले भने, ‘सो परियोजना बागलुङ र रुकुमको भागमा रहेको ढोरपाटनमा जलाशय निर्माण गरि बागलुङको निसीमा विद्युत गृहमार्फत उत्तरगंगाको पानी वडीगाडमा खसाली सम्पन्न हुँदा गुल्मी बागलुङका जनताले थप सुविधा पाउने छन् ।’

 

त्यस्तै विष्टले एमाले माओवादी बिचको पार्टी एकताको विषयमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘केहि दिन ढिलो हुन सक्छ तर पार्टी एकता हुन्छ’ विष्टले भने, ‘जनताले एकतालाई अनुमोदन गरिसकेकोले पछि हट्ने कसैलाई छुट छैन ।’

 

कार्यक्रममा प्रदेश सांसद खड्क केसी, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, नेकपा माओवादी गुल्मी जिल्ला अध्यक्ष विर बहादुर कार्की, मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, मदाने गाउँपालिका गुल्मीका अध्यक्ष दान बहादुर केसी, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचनलगायतको सहभागिता रहेको थियो । 

गोकर्ण विष्ट बाग्लुङ उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना

विशेष