स्थापना दिवसकै दिन फुट्यो राजपा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल असन्तुष्ट समूहले पार्टी फुटाएकाे छ। राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन्।
उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको जानकारी दिइएको छ। तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव रहेका छन्।
त्यस्तै महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरूमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन्।
मधेशी जनताको मुल एजेण्डा संविधान संशोधनमा राजपाले कुनै भूमिका नखेलेको बरु सत्तामा जानमात्रै हतार गरेकोले आफूहरुले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवको बताए। अध्यक्ष मण्डलका ६ जनाले राजपाको मुल मुद्दा बिर्सिएको आरोप समेत उनले लगाए।
सह-संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको बताए । राजपा नेपालका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै सिंहले भने,’उनीहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं ।’
राष्ट्रिय जनता पार्टी नेपाल असन्तुष्ट समूह नयाँ पार्टी घोषणा