मुख्य समाचार राजनीति

पार्टी एकताको विकल्प नभएपछि दाहाल केही लचिलो बन्दै

पार्टी एकताको विकल्प नभएपछि दाहाल केही लचिलो बन्दै

काठमाडौँ । वैशाख ९ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणका लागि सिद्धान्तत: प्रतिवद्ध भएको र व्यवहारिकरुपमा अघि बढाउने प्रयास जारी रहेको भन्ने सन्देश दिने विषयमा सीमित हुने भएको छ ।

 

यसअघि एमाले र माओवादीको दुई शीर्ष नेताहरु, पार्टी एकता संयोजन समितिको बैठक र दुई कार्यदलले कम्युनिष्ट पार्टीको स्थापना, एवं लेलिन जयन्तीका अवसरमा वैशाख ९ गते दुई पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा घोषणा गर्ने निर्णय गरेका थिए।

 

तर स्रोतका अनुसार अहिले सोही मितिमा पार्टी एकीकरण गर्न नसके पनि एकीकरणको प्रयास जारी छ भन्ने नयाँ सन्देश दिन वाम गठबनधनले विशेष कार्यक्रम आयोजना गर्न आइतबार सिटी हल बुक गरेका छन्। 

 

यसअघि बिहीबार प्रधानमन्त्री ओली र दाहाल बालुवाटारमा तीन घण्टासम्म छलफल गरेका थिए । यसअघि पनि पटकपटक अधिकारीको घरमा बसेर प्रधानमन्त्री ओली र दाहाले गोप्य छलफल गरेका थिए। बिहीबार र शुक्रबार गरी साढे पाँच घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओली र दाहाल पार्टी एकीकरणका लागि केही लचिलो बन्दै समझदारी गर्नुपर्ने निश्कर्षमा भने पुगेका छन्।

 

स्रोतका अनुसार प्रधानमन्त्री ओली र दाहालबीच समानताको नीतिमा टेकेर एकीकृत पार्टीको केन्द्रीय समतिहरु गठन गर्ने, महाधिवेशनसम्म ओली र दाहाल दुवै अध्यक्ष बन्दै सबै निर्णय संयुक्तरुपमा गर्ने समझदारी बनेको छ । ‘यसअघिकै मौखिक सहमति अनुसार दुवै जना एकीकृत पार्टीको अध्यक्ष बन्ने र सबै प्रकारका निर्णयहरु छलफल गरेर नै गर्ने सहमति ओली र दाहालबीच भएको छ,’ स्रोतले देशसञ्चारसँग भन्यो, ‘यान्त्रिक भएर अघि बढियो भने एकीकरणमा समस्या आउन सक्छ। नीतिगत समानताका आधारमा अघि बढ्नु पर्छ र आवश्यकता अनुसार दुवै पार्टीका सदस्यलाई अव बन्ने समितिमा राख्नु पर्छ भन्ने समझदारी समेत उहाँहरुबीच भएको छ।’

 

बिहीबार भएका समझदारीलाई अझ माझ्न थप छलफलको आवश्यकता रहेको भन्दै शनिबार तीन बजे फेरि भेट्ने गरी प्रधानमन्त्री ओली र दाहाल अधिकारीको घरबाट छुट्टिएका छन्। एमाले र माओवादीले केन्द्रबीच एकीकृत पार्टीमा कुन पार्टीको कति हिस्सेदारी हुने तथा ओली र दाहाल दुवै अध्यक्षको भूमिका कस्तो हुने भन्नेमा विवाद हुँदा पार्टी एकीकरण प्रक्रिया लम्बिएको थियो । माओवादी अध्यक्ष दाहालले एकीकृत पार्टीको महाधिवेशनपछि आफू कार्यकारी अध्यक्ष बन्ने सुनिश्चतता प्रधानमन्त्री ओलीबाट खोज्दा यसअघि उनीहरुबीच भएका वार्ताहरु निश्कर्षविहिन बन्न पुगेका थिए।

 

पार्टी एकता गर्ने प्रतिवद्धतासहित चुनावमा गएका कारण जनताले आफूहरुलाई जिताएकाले त्यसको कार्यान्वयनको विकल्प नभएको ठहर गरेका ओली र दाहालले केही लचिलो बन्दै एकताका लागि प्रयासलाई निरन्तरता दिएको बुझिएको छ। यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले एकीकृत पार्टीको केन्द्रीय समिति एमाले र माओवादी दुवैबाट ५०/५० प्रतिशतको अनुपातमा सदस्यहरु समावेश गरी गठन गर्नुपर्ने अडान राख्दै आएका थिए । तर पार्टी एकताको विकल्प नभएपछि दाहाल केही लचिलो बन्न थालेको स्रोतको भनाइ छ ।

नेकपा एमाले नेकपा माओवादी पार्टी एकता

विशेष