कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर भएको भन्दै स्थगित गरिएको हो।
शुक्रबार ११ बजे बस्नेगरी बोलाइएको बैठक काठमाडौं बाहिर गएका केन्द्रीय सदस्यहरू आइनपुगेकोले बैठक स्थगित गर्नु परेको पार्टी सचिवालयले जानकारी दिएको छ। चैत्र ९ गते देखि सुरु बैठक १६ गतेसम्म चलेको थियो। केन्द्रिय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भए पछि बैठक स्थगित भएको थियो।
शुक्रबार बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत धेरै केन्द्रीय सदस्य अनुपस्थित हुने भए पछि वैशाख ९ गते आइतबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ।
आमन्त्रित सहित कुल ८९ सदस्य केन्द्रीय सदस्यह रहेको समितिमा अहिलेसम्म ४३ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा मुख्य गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका बारेमा छलफल हुदैँ आएको छ।