मुख्य समाचार राजनीति

एमाले–माओवादीका नेताकाे दाबी : भोलि एकताका विषयमा ‘ऐतिहासिक’ घोषणा हुन्छ !

एमाले–माओवादीका नेताकाे दाबी : भोलि एकताका विषयमा ‘ऐतिहासिक’ घोषणा हुन्छ !

एमाले र माओवादी केन्द्रका नेताहरुले आइतबार पार्टी एकताका विषयमा ‘ऐतिहासिक’ घोषणा हुने दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकाे अवसर पारेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले महत्वपूर्ण घोषणा गर्ने उनीहरुको दाबी छ । ‘भोलिको कार्यक्रममा नेताहरुले एकताको सन्देश प्रवाहित गर्नका लागि महत्पूर्ण घोषणा गर्नुहुनेछ’, पत्रकारसंग कुरा गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने ।


एमाले नेता कृष्णगोपाल श्रेष्ठले पनि आइतबार नै दुई अध्यक्षले वाम पार्टीको एकताका सन्दर्भमा ‘ऐतिहासिक’ घोषणा गर्ने तयारी रहेको बताए । ‘हामीले भोलि नै पार्टी एकताको घोषणा गर्नुपर्छ भनेर समेत छलफल चलाएका छौँ, एकताका लागि दुवै पार्टी भंग गर्नुपर्छ त्यो भोलि नै सम्भव छैन’, उनले भने,‘तर ऐतिहासिक दिन भएकाले दुवै अध्यक्षले पार्टी एकताको दिनका रुपमा भोलिको मितिलाई घोषणा गर्नुपर्छ भनिरहेका छौँ ।’


उनले एकताको तयारी गरिरहेका दुई पार्टीले छुट्टाछुट्टै कार्यक्रम गर्दा राम्रो सन्देश नजाने भएकाले प्राविधिक रुपमा दुई पार्टी भएपनि चाँडै एकता हुने सन्देश दिन संयुक्त कार्यक्रम आयोजना गरिएको बताए ।


आइतबारको कार्यक्रम पार्टी एकता संयोजन समितिले आयोजना गरेको हो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रचण्ड र ओलीले सम्वोधन गर्ने  नयाँ पत्रिकाले लेखेकाे छ ।

माओवादी केन्द्र पार्टी एकता

विशेष