राजनीति

यी दुई विकल्पमा ओली–प्रचण्ड

यी दुई विकल्पमा ओली–प्रचण्ड

काठमाडौं । वाम एकताको विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई विकल्पमा परामर्श थालेका छन् ।

 

नेतृत्व व्यवस्थापन र एकतापछि पार्टी तथा संगठनमा दुईतर्फका कति-कति संख्या रहने भन्ने विषयको मिलनबिन्दु पहिल्याउनै कठिन भए पनि विकल्पमा छलफल चलिरहेको छ । शुक्रबार ओली–दाहाल परामर्शको प्रस्थान बिन्दु पनि दुई विकल्प रहेको थियो ।

 

सैद्धान्तिक तथा वैचारिक विषय, पार्टीको लक्ष्य र उद्देश्य जस्ता मुख्य विषयमा सहमत भइसकेका दुई दलले मूल नेतृत्वको व्यवस्थापन र पार्टी तथा संगठनमा एकताको अनुपातमा सहमति जुटाउने कार्य जारी राखेका छन् ।

 

स्रोतका अनुसार पाँच वर्ष ओली सरकारमा, दाहाल पार्टी नेतृत्वमा वा सरकार र पार्टी नेतृत्व आधाआधा समय गर्ने भन्ने विकल्पमा पनि परामर्श भएको छ । शनिबार परामर्श जारी राखिने दाहालले जनाएका छन् । परामर्श सकारात्मक रहेको दाहालको सचिवालयले जनाएको छ ।

 

माओवादी केन्द्रले एकता ५०/५० को अनुपातमा हुनुपर्ने अडानबाट पछि हट्न तयार देखिए पनि महाधिवेशनपछि दुवै दलको मूल नेतृत्व टुंग्याएर अघि बढ्न खोजेको छ । एमाले नेताहरू भने महाधिवेशनबाट नेतृत्वको हल हुने गरी जान खोजेका छन् ।

 

माओवादीले ओलीलाई पाँच वर्ष नै सरकारको नेतृत्व गर्न र महाधिवेशनबाट माओवादी अध्यक्ष दाहाललाई अध्यक्षको सुनिश्चितता हुने ग्यारेन्टी गर्न भनेको छ । छलफलमा दाहालले यही लाइनबाट ओलीसामु प्रस्ताव राखेको स्रोतले बतायो ।

 

दाहालले दुवै अध्यक्षको अहिले नै महाधिवेशनपश्चात् भूमिका के हुने भन्ने स्पष्ट भएमा ५०-५० को अनुपात हुने गरी एकता गर्नुपर्ने अडानमा पुनर्विचार हुनेसमेत जनाएका छन् । 

 

एमालेका तर्फबाट भने अहिलेलाई दुवै नेता सहअध्यक्षको भूमिकामा जाने र महाधिवेशनबाट टुंगो लगाउने प्रस्ताव छ । माओवादीले महाधिवेशनपछि एउटा संगठनको नेतृत्वमा सरकार भए स्वतः अर्को संगठनको नेतृत्वमा पार्टी नेतृत्व हुनुपर्ने प्रस्ताव गरेको छ । 

 

एमाले अध्यक्ष ओलीले यस विषयमा आफू सकारात्मक रहेको तर आफूले मात्रै निर्णय दिन नसकिने जनाएको माओवादी स्रोतले जनायो । ओली र दाहालबीच शुक्रबारको छलफलमा ठोस सहमति हुन नसकेपछि पुनः शनिबार छलफल गर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारबाट छुट्टिएका थिए  ।
 

ओली–प्रचण्ड एकता पार्टी

विशेष