झापाको मेचीनगरबाट सुरू भयो एमाले-माअोवादी एकीकरण
काँकडभिट्टा । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा एमाले र माओवादी केन्द्रबीच आइतबार एकीकरण घोषणा भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा केन्द्रलार्इ चुनाैती दिदै एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो ।
पार्टीको केन्द्रीय नेतृत्वले आइतबारकै अवसर पारेर एकीकरण गर्ने पहिल्यै घोषणा गरिसके पनि हाल केही विषयमा अलमल भइरहेको देखिँदा केन्द्रमा समेत दवाव सिर्जना गर्न वडा तहमा दुबै कमिटी गाभेर नयाँ कमिटी घोषणा गरिएको एमाले झापा जिल्ला कमिटीका सल्लाहकार सदस्य भीम खवासले बताए ।
आइतबार बिहान धुलावारी बजारमा दुबै पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा र्याली निकाल्नुका साथै कोणसभा र पत्रकार सम्मेलन गरेका छन् ।
कोणसभामा प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको थियो । खड्का यसअघि एमाले मेचीनगर वडा नं १० का अध्यक्ष थिए ।
यसअघि माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष रहेका दलबहादुर कट्टेलले केन्द्रमा एकीकरण गर्न विलम्ब भएकाले स्थानीय कार्यकर्ता र शुभेच्छुकहरुको आग्रहअनुसार वडा तहमा स्वतःस्फुर्त एकीकरण गरिएको बताए ।
माओवादी केन्द्रका नेता हृदय राजवंशीले केन्द्रमा आइतबार एकीकरण हुने भनी पहिल्यै तय भइसकेको कार्यक्रम पदीय भागवण्डाको निहुँमा अवरुद्ध हुँदा जनता असन्तुष्ट रहेको जनाउँदै एउटै पार्टी निर्माण गर्ने भनेपछि भागवण्डा बाधक हुन नपर्ने धारणा व्यक्त गरे ।
आइतबार एकीकरण गरिएको वडा कमिटीका संयोजक प्रकाश खड्काका अनुसार गत चुनावमार्फत एकीकरणलाई अनुमोदन गरिसकेका जनताको अब पर्खिने धैर्य टुटिसकेको जिकीर गर्दै आजदेखि आफ्नो वडामा एमाले र माओवादी दुबै पार्टीको पुरानो कमिटी स्वतः निष्क्रिय भएका छन् ।
झापा पार्टी एकता