मुख्य समाचार राजनीति

बाबुरामको दावी : हिन्दु राष्ट्र नबनाएकाे झोक पोख्न भारतले नाकाबन्दी गरेको थियो

बाबुरामको दावी : हिन्दु राष्ट्र नबनाएकाे झोक पोख्न भारतले नाकाबन्दी गरेको थियो

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई हिन्दु राष्ट्र कायम राख्ने भारतको चाहना पुरा नभएपछि त्यसको रिसमा भारतले नाकाबन्दी लगाएको बताएको छ ।

 

आज अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित अन्तर्वार्तामा बाबुरामले भारतले मधेशीले अधिकार पाउन भनेर नाकाबन्दी नगरेको पनि दावी गरेका छन् ।

 

भट्टराईले एक प्रश्नको जवाफ दिएका छन्, ‘भारत र चीन नेपालको संघीयताको पक्षमा थिएनन्, अहिले पनि छैनन्। संविधान जारी हुने बेलामा जुन किसिमको विवाद उत्पन्न भयो र भारत नाकाबन्दी लगाउने हदसम्म पुग्यो, त्यो केका लागि थियो भन्ने रहस्यको विषय छ। भारतले नेपाल संघीयतामा जाओस् र मधेसीहरूले अधिकार पाऊन् भनेर नाकाबन्दी गरेको थिएन। भारतको वास्तविक चाहना नेपाल एउटा हिन्दु राज्य रहिरहोस् भन्ने थियो। सीधै भन्न सकेन, भित्रभित्रै भन्यो र त्यो नभएपछि त्यसको झोक पोख्न उसले नाकाबन्दी गर्‍यो।’

 

नेपालमा संविधान जारी भएपछि भारतले असन्तुष्टि जनाएको थियो । त्यसलगत्तै उसले अघोषित नाकाबन्दी गरेको थियो ।

 

बाबुरामले प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणले ओली र भारतीय प्रधानमन्त्री मोदीवीच व्यक्तिगत सम्बन्धमा सुधार आएको बताएका छन् । 

 

‘भारत भ्रमणका क्रममा उहाँले भारतीय शासकहरूसँग कुनै आन्तरिक समझदारी गरेको पनि हुन सक्छ। उहाँ निकै खुसी भएर फर्कनुभएको छ। तर अन्तर्राष्ट्रिय कूटनीति त्यसरी चल्दैन। आगामी दिन कसरी जान्छ पर्खेर हेर्नुपर्छ।’ बाबुरामले भनेका छन् ।

 

यसबाहेक उनले थपेका छन्, ‘भ्रमणले नेपाल भारत सम्बन्धमा होइन, ओलीजी र मोदीजीको सम्बन्धमा सुधार आएको हो। दुई देशबीचको सम्बन्धमा सुधार आइदियो भने त राम्रै हो, तर अहिले दुई समकक्षीको निजी सम्बन्ध सुध्रेको हो।’

भारत नाकाबन्दी डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपाल हिन्दु राष्ट्र

विशेष