मुख्य समाचार राजनीति

'विकास गर्न लाग्दा अधिनायकवाद लाद्न खोज्यो भनियो'

'विकास गर्न लाग्दा अधिनायकवाद लाद्न खोज्यो भनियो'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले विकास गर्न खोज्दा विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेको बताएका छन् ।


मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले भने, 'मुलुकलाई थितिमा चलाउन खोज्दा अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेका छन् । अधिनायकवाद होइन अहिलेको सरकारलाई साँच्चै सरकार जस्तो चलाउन खोजिएको मात्रै हो ।'


उनले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन सरकारले बेथितिलाई ट्र्याकमा ल्याएर काम गरिरहेका बताए ।


उनले अब सडकमा जताततै बन्द हडताल गर्न नदिने दोहोर्‍याउँदै भने, 'पहिला तिमीहरुले पनि सडक बन्द गरेका थियौं भन्नेलाई मेरो जवाफ छ- त्यतिबेला निरंकुशता र राजतन्त्र ढाल्न गरेका थियौं । अहिले त्यो स्थिति छैन । त्यसैले जताततै बन्द हड्ताल गरेर जनतालाई दुःख दिन पाइन्न ।'


यस्तै प्रधानमन्त्री ओलीले मदन भण्डारी एउटा पार्टीको मात्रै नेता नभएर देशकै नेता भएको उल्लेख गरे । उनले पार्कलाई देखाउँदै भने, 'यहाँ पार्क बन्नु भन्दा पहिला भिरालो थियो । घाँस उम्रिएका थिए । निर्माण पछि अहिले सुन्दर भएको छ । हो, हामी पनि देशलाई यस्तै सुन्दर बनाउँछौं ।'


सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको आजको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

केपी शर्मा ओली काठमाडौं अधिनायकवाद

विशेष