राजनीति प्रदेश २

प्रदेश २ मा बजेटका लागि बसेकाे बैठकमा विवादै विवाद

प्रदेश २ मा बजेटका लागि बसेकाे बैठकमा विवादै विवाद

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा सांसदहरुले विशेष समय लिएर प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४-०७५ को बजेटमा छलफल गरेका छन्।

 

संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले आ-आफ्नो जिल्लाहरुमा छुटेका भौतिक पुर्वाधारको निर्माण, ऐतिहासिक धार्मिक मठ मन्दिरहरुको संरक्षण एवं जिर्णोद्धार, दलित समूदायलाई विशेष बजेटको व्यवस्थान नभएको तथा जनप्रतिनिधि देखि स्थानीयलाई समेत आफ्नो शासन सत्ताको प्रत्याभुत गराउन नसकेको विषयमा सरकारलाई ध्यानाकर्षण समेत गराएका छन्।

 

१८ औं प्रदेशसभा बैठकमा बोल्दै सांसद पारस प्रसाद साहले प्रदेश २ मा ४६ हजार हेक्टर वनबाट घटेर आज तराई मधेशमा २६ हजार हेक्टरमा सिमिति हुन पुगेकोले तराईलाई मरुभुमिकरणबाट बचाउन तथा वन विकासको अवधारणा अघि ल्याउनुपर्नेमा जोड दिए।

 

उनले निजगढ अन्तर्राष्ट्रिय विनानस्थल तर्फ इङिकत गर्दै भने, ‘विकासको नाममा प्राकृतिक वातावरणलाई विनाश गरेर अनावृष्टि र अतिवृष्टिबाट जनतालाई जोगाउनुपर्छ, जसरी ४६ हजार हेक्टरबाट आज २६ हजार झरेको छ, अतिक्रमित वनलाई खोजेर तत्काल त्यसलाई प्रदेश सरकारले आफ्नो मातहतमा लिनुपर्छ।’

 

उनले वन नष्ट गर्दै जाने हो भने, भोलीको दिनमा अतिवृष्टि र अनावृष्टिको सिकार मधेशका जनता हुने तथा खेतमा गिटी तथा वालुवा भरिने चेतावनी समेत दिए।


बुधबारको प्रदेशसभा बैठकमा बोल्दै सांसद जयनूल राईनले बैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणलाई ईतिहासकै एउटा स्वर्णिम अक्षरमा लेखिने तथा सम्झन लायक बनाउनुपर्नेमा जोड दिए।

 

उनले प्रदेश सरकारको आलोचना गर्दै भने ‘सर्लाहीको एउटा निर्वाचित जनप्रतिनिधिलाई ज्यान मार्ने सम्मको धम्की आउदैछ, तर सरकार कस्को मुख ताकेर बसेको छ कुन्नि, अहिले सम्म प्रहरी प्रशसनले केही गर्न सकेको छैन।’

 

सर्लाहीको सुन्दरपुर गाउँपालिकाको एक जना वडा अध्यक्षको घरमा सकेट बम राखेको तथा बिगत १५ दिन देखि लगातार फिरौती माग्दै धम्की दिइरहेको भए पनि प्रहरी प्रशासनले केही पनि नगरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रविन्द्र बैठाले देशमा कानून बनेको पनि मधेशका दलित समुदायमाथिको भेदभाव र छुवाछुत अझै पनि कायमै रहेको बताए।

 

उनले प्रदेश सरकारले समेत आफुहरुप्रति भेदभाव र छुवाछुतको भावना राखी दलित समुदायको कुनै कार्यक्रम बजेटमा राख्न नसकेको प्रति आलोचना गरे ।

 

दुई नम्बर प्रदेशमा दलित समुदाय अन्य समुदायबाट अपहेलित र उपेक्षित र बञ्चित रहेको भन्दै प्रदेशको राजधानीमै दलित समुदायले कोठा भाडा समेत पाउन नसकिरहेको उनले बताए।

 

चमार, डोम, दुसाद, तत्मा, मुसहर, बातर, खत्बे, हलखोरी लगायत जातिको नाम सुन्ने वित्तिकै जनकपुरमा कुनै पनि घरबेटीले घर भाडामा दिने कुरा त छाडौं, नामै सुन्न खोज्दैनन्।आम जनताको त कुरै छोडौं, यहाँ दलित समुदयालाई सरकार र नेताहरू समेतले अछुतको व्यवहार प्रस्तुत गरेको आरोप सांसद बैठाको छ।

 

उनले कानून भए पनि व्यवहारमा कार्यान्वयन नभएको, जनकपुर अञ्चल अस्पतालको स्तर उन्नती हुन नसकेको र अञ्चल अस्पताल रहेकोमा त्यसलाई प्रादेशिक अस्पतालको रूपमा रुपान्तरण गरेर चिकित्सकहरूको दरबन्दी पनि थप्नुपर्नेमा उनले जोड दिए।

 

प्रदेश नं. २ मा १ लेन देखि ६ लेन सम्मको सडक बन्दै गरेको सन्दर्भमा सांसद शिवचन्द्र चौधरीले भने, ‘प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको अन्तरवार्ता तथा भाषण गौान्ति महसुस हुने खालको हुन्छ तर, कुरा अनुसारको काम नदेख्दा मन खिन्‍न हुन्छ।’

 

नेपाली कांग्रेसका सांसद चौधरीले ‘मुख्यमन्त्रीले सातवटै प्रदेश भन्दा प्रदेश २ लाई उत्कृष्ट प्रदेश बनाउनु पर्ने भन्‍दै उनले भने , “काम बढी र भाषण तथा रिवन काट्ने तथा उदघाटन गर्ने कार्यक्रम कम गर्नुस्।”

 

उनले प्रदेश सभाका सांसदहरूको मर्यादाक्रममा अवमुल्यन गर्दै एउटा सांसदको प्रोटोकल सचिव भन्दा तल राखिएकोमा आपत्ति समेत जनाए ।

 

उनले भने, “यहाँको सचिव ठुलो कि एउटा सांसद ? ११ औं स्थानबाट १४ औं स्थानमा झारिएको छ, यो अन्याय भयो ।”

 

संघीय समाजवादी फोरम नेपालका सांसद प्रल्हाद गिरीले प्रदेशसभाका सांसदहरु सभासद भएपनि आफ्नो सुविधाका लागि एक जना पनि सहयोगी राख्न नपाएको रोष प्रकट गरे।

 

भ्रष्टाचारमा शून्य सहनशील रहने भनेर भनिएको भएपनि अहिले प्रदेश नम्बर दुईको सबै जसो सरकारी कार्यालयहरूमा चरम भ्रष्टाचार भईरहेको भन्दै भ्रष्टाचार रोक्न प्रदेश सरकारको उनले ध्यानाकर्षण समेत गराए।

 

सदन क्रियाशील नभएकाले नै सरकार पनि क्रियाशील नभएकाले सदन क्रियाशील हुने पर्ने गिरीले सभामुख सरोज यादबको ध्यानाकर्षण गराएका थिए।

 

केही दिन अघि बारामा भएको असिना वर्षाले त्यहाँको बालिनाली तथा घरहरुमा व्यापक क्षति पुर्‍याएकोले तत्काल संसदीय समिति गठन गरि क्षतिपुर्तिको लागि सरकारले पहल गर्नुपर्नेमा राजपा नेपालकी सांसद डिम्पल झाले जोड दिए।

 

सांसद डिम्पल झाले – “मुख्यमन्त्री राउत तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई बारा जिल्लाको मात्र मन्त्री तथा मुख्यमन्त्रीमा सीमित नहुन ध्यानाकर्षण गराउदै ८ जिल्लालाई समान दृष्टिले हेर्न तथा व्यवहार गर्न आग्रह गरिन्।

 

उनले भनिन्- ‘बारा जिल्लामा आगलागि हुँदा मुख्यमन्त्री राउत र मन्त्री सोनल आफै राहत लिएर पीडितको घरसम्म पुग्नुभयो तर, १६ चैत्रमा असिना, आंधीबाट गरीब दलित जनताको खाप्राको घरको छाना उडेको अवस्थामा प्रदेश सरकारले कुनै पनि किसिमको राहत उपलब्ध गराउन माग गरे।

 

प्रदेश सांसद सीता गुरुङले प्रदेश सरकारले पर्यटकीय स्थलको रूपमा बिकास गर्न मात्र मठ, मन्दिर, मदर्शालाई प्राथमिकता दिएको र गुम्बालाई उपेक्षा गरेको आरोप लगाइन्।

जनकपुरधाम प्रदेश २

विशेष