अाेली सरकार संघीय प्रणालीलाई रोक्ने चेष्टा गर्दैछः उपेन्द्र यादव
जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले संघीयतालाई समाप्त गर्न पर्दा पछाडिबाट षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा यादवले आफूहरुले संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार त्यसको विपरित दिशामा लागेको आरोप लगाएका हुन् ।
उनले भने, ‘केन्द्र सरकारले प्रदेशको कानून बनाउन भन्दा पनि संघीय प्रणालीलाई रोक्ने चेष्टा गर्दैछ, यो वर्षौ-वर्ष सम्म आफू मात्र शासन प्रशासन चलाउन गोरा समूदायको नश्लवादी चिन्तन हो।’
यादवले देशमा संघीयता स्थापना पश्चात तीनवटै तहको निर्वाचन सम्पन्न भएपनि केन्द्र सरकारले प्रदेशको आर्थिक, शासन प्रशासन, श्रोत सधान प्रदेशलाई हस्तान्तरण नगरी संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।
उनले विना श्रोत साधनको स्थानीय तहलाई शिक्षा र स्वास्थ्य जस्ता संवेदनशिल विषयको जिम्मेवारी सुम्पिएर केन्द्र सरकारले ठुलो गल्ति गरेको बताए । यादवले तराई मधेशमा भएको नरसंहारको समयमा जबरजस्ती लादिएको नेपालको संविधान संशोधन बिना स्विकार नहुने पनि बताए।
यादवले सरकारको पहिलो जिम्मेवारी भनेको संविधान संशोधन गरेर संघीय प्रणालीलाई मजबुत बनाउनु, दोश्रो स्थानीय तहको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्नु र अहिले हावाको भरमा चलिरहेको प्रादेशिक सरकारलाई शासन प्रशासन, श्रोत साधन र संघीयतालाई मजबुत बनाउनु सरकार जिम्मेवारी भएको बताए।
उनले संघीय गणतन्त्रलाई स्थापित गराउन, संविधान संशोधन गर्न सरकारलाई समर्थन गरे पनि सरकारले संघीयता विरोध कार्य गरिरहेको आरोप लगाएका छन्। यादवले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुलाई औंल्याउँदै प्रदेशमाथी लागेको २ नम्बरको स्टिकर हटाउन आग्रह समेत गरेका छन्।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष वालकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा फोरम अध्यक्ष यादव, मुख्यमन्त्री लालबाबु राउत, संघका सांसदहरु डा. सुरेन्द्र यादव, उमाशंकर अरगरिया, संघीय मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सरोज कुशवाहा, सांसदहरु रामअशिष यादव, शैलेन्द्र यादव सहितका व्यक्तिहरुलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो।
उपेन्द्र यादव संघीय प्रणाली