राजनीति

अाज पनि फेरि भेटौलामै सिमित ओली-प्रचण्ड वार्ता

अाज पनि फेरि भेटौलामै सिमित ओली-प्रचण्ड वार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकिकरणबारे शुक्रबार पनि साढे तीन घण्टा छलफल गरे । 

 

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार पार्टी एकिकरण प्रक्रियालाई अन्तिमरुप दिने भन्दै ओली र दाहाल वार्तामा त जुटे तर उनीहरु कुनै निश्कर्षमा पुग्न भने सकेनन् । अाउँदाे २० गते फेरि भेटौंला भन्दै छुट्टिएका छन् ।

 


एकिकृत पार्टीका सबै कमिटिहरुमा दुईतर्फको समानअनुपातमा प्रतिनिधित्व नै सबैभन्दा पेचिलो मुद्धा बनेको छ, खासगरी दाहालले सम्मान, समानता र न्यायोचित आधारलाई सर्त बनाएपछि ।

 

यही वैशाख ९ गते पार्टी एकिकरण गर्नु पर्ने सुझाव वाम गठबन्धनद्धारा गठित कार्यदलहरुले दिएपनि ओली र दाहालबीच समझदारी नबन्दा एकिकरण लम्बिएको छ।

 

त्यस दिन ओली र दाहाल दुवैले छिट्टै एकिकरण सन्देश कार्यकर्ताहरुलाई दिएर छुट्टिएका थिए।  गत फागुन सात गते ओली र दाहालबीच एकिकृत पार्टीको महाधिवेशन अघिसम्म दुवै जना कार्यकारी अध्यक्षकै हैसियतमा रहने मौखिक समझदारी बनेको थियो।

 

प्रधानमन्त्री ओलीले वैचारिक, भावी अभिभारा र राष्ट्रिय हितका आधारमा पार्टी एकिकरण हुनु पर्ने बताउँदै आएका छन्। तर त्यसलाई व्यवहारिक स्वरुप र लिखित प्रतिवद्धताको रुपमा अनुवाद गर्न दुवै जना असफल भएका छन्।

 

पछिल्ला दिनमा ओली र दाहालले एकअर्काको मन माझ्ने काम मात्रै गरिरहेका देखिन्छ । आजकाे वार्ता सहमति हुन नसकेका विषय भन्दा ब्यानर विवादमै केन्दि्रत भएको छ । यससँगै मे १ मजदुर दिवस र मे ५ मार्क्स जयन्तीमा एकता घोषणाको सम्भावना टरेको छ ।

ओली-प्रचण्ड वार्ता

विशेष