मुख्य समाचार देश

१ वर्षमा ५ पटक नेपालीमाथि भारतीय ज्यादती : किन बोल्दैन नेपाल सरकार ?

१ वर्षमा ५ पटक नेपालीमाथि भारतीय ज्यादती : किन बोल्दैन नेपाल सरकार ?

धनगढी ।  पछिल्लो एक वर्षयता कञ्चनपुरका नागरिकले एक पटक होइन्, पटक–पटक भारतीय पक्ष (खासगरी सुरक्षाकर्मी)को ज्यादती खेपेका छन् ।

 

आफ्नै भूमिमा संरचना निर्माणको क्रममा मात्रै होइन्, भारतीय सीमावर्ती बजारमा किनमेल गर्दा, हिँडडुल गर्दा समेत भारतीय पक्षको ज्यादती सहनु परेको छ । तर नेपालको सरकारी निकाय भने निरिह बनेका छ, नत सीमा विवाद सुल्झेको छ, नत ज्यादतीको श्रृंखला नै हटेको छ ।

 

वैशाख १२ गते पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले दुई पक्षीय सहमतिमा नेपाली भूमिमा विद्युतीय तारबार गरिरहेका थिए । भारतको दुधुवा नेश्नल पार्कबाट आउने जंगली जनावर नेपाली वस्तीमा पस्नबाट जोगाउन भैरहको तारवारको काममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्यायो ।

 

पुनर्वास नगरपालिका–९ का वडा अध्यक्ष नारायण जैशीले नेपाली भूमिमा तारबार भैरहेको बेला एसएसबीले अवरोध पुर्याउनुका साथै नेपाली सुरक्षाकर्मीकै सामुने तारवार उखेलेर फालेको बताए ।

 

अध्यक्ष जैशीका अनुसार एसएसबीको ३९ औँ बटालियन अन्तर्गत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरिएपछि सीमा पिलर १९५ नजिक लगाएको तारबार एसएसबीले उखेलेर फालेको थियो ।

 

एसएसबीको अघिल्लो कम्पनी कमाण्डरसँग तारबार लगाउने सहमती भएको बताउँदै उनले नयाँ कमाण्डरले नेपाली भूमिलाई आफ्नो भूमि भन्दै लगाएको तारबार उखेलेको जनाए ।

 

गत वर्ष फागुनमा पुनर्वास नगरपालिका–४ आनन्द बजारमा कल्र्भट निर्माणको विषयमा दुई पक्षबीचको विवादले उग्ररुप लिएको थियो । उक्त घटनामा भारतीय सुरक्षाकर्मीको गोलीबाट पुनर्वासका गोबिन्द गौतमले ज्यान गुमाउनु परेको थियो । 

 

गत कात्तिक महिनामा पुनर्वासको सीमा क्षेत्रमा भारतीय पक्षले ट्रेन्च खनेको थियो । नेपाली पक्षको विरोधपछि उक्त  ट्रेन्च एसएसबीले आफैं पुरेको थियो ।

 

कात्तिक महिनामै भीमदत्त नगरपालिका–१० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध सिर्जना भएको थियो ।

 

त्यस्तै, गत माघ महिनामा बेलौरी नगरपालिका–१० मा नेपाली पक्षले सडक चौडा गर्ने क्रममा भारतीय पक्षले अवरोध पुर्याउँदा स्थानीयले विकासको कामै ठप्प गर्नु परेको थियो । 

 

भारतीय पक्षबाट श्रृङ्खलावद्ध रुपमा हुँदै आएको ज्यादती र हस्तक्षेपबाट स्थानीयबासी त्रसित बनेका छन् । तर नेपाल सरकारले हालसम्म निकासको दिगो पहल गर्न सकेको छैन । केही महिना अगाडि दुई देशीय सीमाविदहरुको टोलीले सीमा सर्वे थालेको थियो । पछि सर्वेको काम पूरा नहुँदै उक्त टोली फिर्ता भएको थियो ।

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले कुटनीतिक पहलबाट सीमा विवाद समाधान गरिने बताए । उनले छिट्टै दुई देशीय सरोकारवाला निकायको छलफलबाट सीमा विवादको निकास खोजिने प्रतिवद्धता जनाए ।

कञ्चनपुर भारतीय पक्ष

विशेष