मुख्य समाचार राजनीति प्रदेश ४

पार्टी एकता सम्मानजनक र समानताको आधारमा हुन्छः नेता श्रेष्ठ

पार्टी एकता सम्मानजनक र समानताको आधारमा हुन्छः नेता श्रेष्ठ

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताएका छन् । गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै शंका नरहेको बताएका हुन् ।

 

एमाले र माअाेवादी केन्द्रकाे एकतामा ढिलाई भइरहनुको एउटा कारण विदेशी चलखेल पनि हो ? भन्ने प्रश्नमा श्रेष्ठले एकतामा कसैले कुनै चलखेल गर्न नसक्ने दावी गरे । ‘हामीले चलखेल भइसकेको भनेका छैनौं, चलखेल हुन सक्नेतर्फ सचेत हुनुपर्छ भनेका हौं’, उनले भने, ‘कसैले चलखेल गरेको भए त यसले ग¥यो है भनिहाल्थ्यौं नि ।’

 

नेपालको आन्तरिक मामिलामा कुनै पनि देशको कुनै पनि प्रकारको चलखेल स्विकार नगर्ने उनको दावी छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले पार्टी एकतामा केही फरक पार्न सक्छ भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘एकताका कुरालाई मोदी वा अरु कसैसँग जोड्नु जरुरी छैन, म फेरि जोड दिएर भन्न चाहन्छु, नेपालको आन्तरिक मामिलामा अरु कसैको हस्तक्षेप स्विकार गर्ने वा हस्तक्षेप आमन्त्रण गर्ने दिन गए ।’


फरक पृष्ठभूमिबाट आएका दुई ठूला पार्टीको एकिकरण सहज नभए पनि त्यसको आधार भने तय भैसकेको नेता श्रेष्ठको दावी छ । पार्टी एकता संयोजन समितिले सांगठनिक संचरना र राजनीतिक प्रतिवेदन तयार गरिसकेको उनले जानकारी गराए । 

 

‘पार्टी एकता सम्मानजनक हुन्छ, समानताको आधारमा हुन्छ’, श्रेष्ठले भने, ‘बाहिर चर्चामा आएजस्तो ठूलै महाभारत भएजस्तो कुनै समस्या छैन ।’ कतिपय विषयमा सामान्य बहस हुनु स्वाभाविक भएको उनलेले बताए । 

नारायणकाजी श्रेष्ठ

विशेष