राजनीति

शशांक कोइरालाको लिखित धारणा– अाखिर केका लागि थियाे त्याे त्याग र वलिदान?

'शीर्ष नेताहरु एकतावद्ध हुनुकाे विकल्प छैन'

शशांक कोइरालाको लिखित धारणा– अाखिर केका लागि थियाे त्याे त्याग र वलिदान?

काठमाडौं । नेपाली कांग्रेसकाे जारी केन्द्रीय समितिको बैठक विभिन्न अवराेधका बिच केिहबेर अघिदेखी सुरुभएकाे छ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएकाे बैठकमा आफ्ना धारणा राख्दै महामन्त्री डा. शशांक कोइरालाले शीर्ष नेताहरुलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

 

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सबै नेताहरुलाई पार्टीमा व्यापक एकता कायम राख्दै, आपसी सद्भाव बढाएर मात्रै वर्तमानका चुनौतीहरुलाई सामना गर्न सकिने भएकाले त्यतातर्फ ध्यान दिन आग्रह गरेका हुन् । 

 

यस्तो छ कोइरालाले बैठकमा प्रस्तुत गरेको धारणाः

आदरणीय सभापतिज्यू, 
बरिष्ठ नेताज्यू, 
कोषाध्यक्षज्यू, 
पूर्व पदाधिकारीज्यूहरु एवं केन्द्रीय कार्यसमितिका सदस्य साथीहरु,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७४ साल चैत्र ९ गते देखी प्रारम्भ भएको थियो । यस बैठकमा सभापतिज्यूले एजेण्डा प्रस्तुत गर्दा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समग्र समिक्षा गर्ने भन्नु भएको छ । यस विषयमा पार्टीका केन्द्रीय सदस्यज्यूहरुले गहिरो र सुक्ष्मरुपबाट समग्र निर्वाचनको समीक्षा गरिसक्नुभएको छ ।

 

निर्वाचनमा पराजयका कारण पहिल्याउँदै आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदम, लिनुुपर्ने विचार, नीति र कार्ययोजना समेतका विषयमा सुझावहरु आएको मैले महशुस गरेको छु । म पनि यस सन्दर्भमा केही चर्चा गर्न चाहन्छु । 

सभापतिज्यू


हामी तीनै तहको निर्वाचनमा अनपेक्षितरुपमा पराजित भयौं । अर्थात निर्वाचनको नतिजा चित्तबुझ्दो आएन । यसबाट पार्टीका साथीहरुमा निराशा, छट्पटी र तनाव बढेको छ । यो कसरी भयो ? आखिर किन जित्न सकिएन निर्वाचन ? यो प्रश्न हाम्रा निम्ती निकै पेचिलो र गम्भिर छ । यसको बस्तुनिष्ठ समिक्षा हुनै पर्दछ । नेतृत्व तहमा बसेका हामीहरु नै यस विषयमा अझ बढी चिन्तनशिल हुनु पर्दछ । 


नेपाली कांग्रेसको स्थापना पछिको झण्डै सात दशकको अधिकांश समय हामीले संघर्षमै विताएका छौं । नेपाललाई निरंकुश, सामन्ती र अन्धकारपूर्ण युगबाट जनताको अपार सहभागितामा लोकतान्त्रिक युगमा पदार्पण गराएका छौं । यस क्रममा पछिल्लो ऐतिहासिक जनआन्दोलन मार्फत संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखन र यसको सफलतापूर्वक कार्यान्वयन हाम्रै नेतृत्वमा सम्पन्न भएको छ ।

 

यस दौरानमा नेपाली कांग्रेसले राज्य संचालनका धेरै अवसरहरु प्राप्त ग¥यो ।  तर पार्टीमा दुःख गरेका पुराना साथीहरु, क्षमतावान र विचारवान साथीहरुको मूल्यांकन गर्न र समुचित भूमिका दिन सकिएन । यस पटकको चुनावको दौरानमा भएको उम्मेदवारी छनौटमा समेत हाम्रो विवेक पुग्न सकेन । जनताले रुचाएका र पार्टीका साथीहरुले पत्याएका नेता कार्यकर्ताहरुलाई हामीले उपयुक्त अवसर दिन नसकेकै हो ।

 

यसमा मलाई निकै गहिरो दुःख छ । नेपाली कांग्रेसबाट सबैभन्दा अवसर पाएका हामीहरु बीच नै सबैभन्दा वढी झगडा र असन्तुष्टि छ । हामी सरह काम गरेका वा हामी भन्दा बढी दुःख गरेका साथीहरुले असाध्यै न्यून अवसर पाउनु भएको छ या पाउनु भएकै छैन । तर पनि उहाँहरु पार्टी संगठन र लोकतन्त्रप्रति हामी भन्दा वढी चिन्तित र क्रियाशील देखिनुहुन्छ । त्यसको हेक्का हामीले पटक्कै राखेका छैनौं । 

 

हामी त चिनिएका छौं, समाजमा मान सम्मान पनि छ, तर ती हजारौं साथीहरु जसलाई कसैले चिन्दैन । लोकतन्त्र प्राप्ती र पुर्नप्राप्तीको लामो लडार्इंमा अतुलनिय योगदान गरेका ती साथीहरु लोकतन्त्रको मन्दिरको जगमा गडेका त्यस्ता बहुमूल्य पथ्थरहरु हुन, जसको अमूल्य त्याग र वलिदानले गर्दा आज हामी यसरी उभिन पाएका छौं ।

 

सत्तामा रहँदा उत्साहको घडीमा हामीले त्यस्ता साथीहरुलाई कति संझ्यौं, उनिहरुको घरपरिवारको अवस्था कति बुझ्यौं ? यसमा मेरा पनि आफ्ना कमी कमजोरीहरु छन् । म ती सबै कमि कमजोरीहरुलाई निसंकोच स्विकार गर्दछु । मैले नेपाली कांग्रेसको इतिहास, संघर्षगाथा, अग्रज नेताहरु र पार्टीका साथीहरुको योगदानलाई बाल्यकाल देखिनै नजिकबाट नियालेको छु ।

 

आफ्नो जीवनको पर्वाह नगरी क्रान्ति, संघर्ष र आन्दोलनको बलिवेदीमा होमिएका हजारौं कार्यकर्ता साथीहरुको त्याग र वलिदानलाई देखेको छु । ती क्षणहरु सम्झँदा वेला वेलामा निकै भावुक पनि हुने गर्दछु । आखिर केका लागि थियो त्यो त्याग र वलिदान ? देश, जनता, लोकतन्त्र भन्दा पर पार्टीका साथीहरुको अरु कुनै स्वार्थ थिएन ।

 

मैले चिनेका भेटेका र संगै बसेका धेरै साथीहरु आज हाम्रा माझ हुनहुन्न । आज म ती सबै साथीहरुको चेहरा झल्झल्ती सम्झिरहेको छु । म आजको यस ऐतिहासिक बैठकमा साथीहरुलाई इतिहासका ती कठीन दिनहरु स्मरण गर्न आग्रह गर्दछु । वर्तमानका चुनौतिहरुलाई विगतका संकटहरु भन्दा कुनै पनि दृष्टिबाट पेचिलो मान्नु हुदैन ।

 

यद्यपी यतिबेला दुइटा कम्युनिष्ट पार्टीहरु एक भएर फराकिलो बहुमत सहितको सरकार बनेको छ । हामीेले अगाडी बढ्नु छ । यसका लागि सबैभन्दा पहिले हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुप्रति गौरवान्वित हुन सक्नु पर्दछ । २००७ सालको क्रान्ति देखि आजसम्म नेपाल र नेपालीका लागि हामीले जे जति काम ग¥यौं, त्यो अतुलनीय छ ।

 

प्रजातन्त्रको स्थापना, पुनस्र्थापना हुँदै  हामी संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुगेका छौं । यो राजनीतिक प्रणाली मार्फत हामी नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन चाहन्छौं । यो शासन प्रणाली हाम्रा लागि साध्य होइन, साधन मात्रै हो, गन्तव्य होईन, बाटो मात्र हो । तसर्थ अव हामी नयाँ यात्रा प्रारम्भ गरौं । 

 

सभापतिज्यू


तपाईको नेतृत्वमा यति ठुलो ऐतिहासिक निर्वाचन भयो, हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो । हाम्रा श्रद्धेय नेता सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन भयो । पछिल्लो ऐतिहासिक जनआन्दोलनका कमाण्डर युगपुरुष गिरिजाप्रसाद कोइरालाले प्रारम्भ गर्नुभएको शान्तिप्रकृया तार्किक निष्कर्षमा पुग्यो । यो हाम्रा लागि ठुलो गौरवको विषय हो । त्यसैले सभापतिज्यू, पार्टीका साथिहरुको गुनासो, विरोध र आक्रोश समेतलाई हामीले अन्यथा लिनु हँदैन ।

 

यही बैठकमा पार्टीका नेता साथीहरुले व्यक्त गर्नु भएका लिखित र मौखिक विचारहरु समेत पार्टीको वर्तमान अवस्था र भविष्यप्रति चिन्तित भएर नै प्रकट भएका हुन भन्ने म ठान्दछु । शैली, भाव भङ्गीमा र प्रस्तुती जे जस्तो भएपनि यी सबै कथनहरुको अन्तर्यमा पार्टी र लोकतन्त्रप्रतिको गहिरो चिन्ता अन्तरनिहित छ । म सबै साथीहरुलाई निसंकोच रुपमा आआफ्ना विचार राख्नु भएकोमा धन्यवाद दिन चाहन्छु । 

 

म आफू एक राजनीतिक परिवारको सदस्य भएपनि पार्टी भित्र म भन्दा धेरै योगदान गरेका साथीहरु  हुनुहुन्छ । मैले त साथीहरु भन्दा धेरै अवसर पाइसकें । बारम्बार सांसद, केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको महामन्त्री पनि छु । यो भन्दा ठुलो सम्मान मेरा लागि अरु के हुनसक्छ ।

 

मैले सधैभरि पार्टीको हित र यसको उज्ज्वल भविष्यको लागि आफूलाई समर्पित गरेको छु र गरिरहने छु । मैले पार्टी र गुट रोज्दा सधैभरि पार्टीलाई नै रोज्नेछु । समुह र संस्था रोज्दा सधैभरी संस्थालाई नै रोज्नेछु । मेरो त एउटै ध्येय छ, पार्टीका साथीहरुको आत्मसम्मान कसरी बढाउने र बढी भन्दा बढी अवसर कसरी प्रदान गर्ने । नेपाली कांग्रेस पार्टीलाई मुलकको सवैभन्दा बलियो, भरपर्दो र जनताको सुख दुखको साथि कसरी बनाउने ।

 

सभापतिज्यू


हाम्रा प्रातः स्मरणीय नेताहरु बी.पी., सुवर्णजी, गणेशमानजी, किसुनजी, गिरिजाबाबु र सुशीलदा लगायत सबै अग्रजहरुले छाडेर जानु भएको विरासतलाई कसरी धान्ने र वहाँहरुको सपनालाई कसरी सार्थक बनाउने भन्ने नै हो । म यस अवसरमा तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु, मैले आजसम्म आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखी कुनै कदम चालेको छैन ।

 

मेरो ध्येय पार्टीलाई एकताबद्ध राख्ने भन्ने हो । आज पनि हामी विच बलियो एकताको आवश्यकता छ । म सभापतिज्यू, बरिष्ठ नेता रामचन्द्र पौडेललगाएतका सबै नेता साथीहरुलाई पार्टीमा व्यापक एकता कायम राख्दै, आपसी सद्भाव बढाएर मात्र बर्तमानका चुनौतिहरुलाई सामना गर्न सकिन्छ भन्न चाहन्छु । यसको तात्पर्य हामीबाट कमजोरी भएको छैन र यसको चर्चा गर्न आवश्यक छैन भन्ने होइन । मैले यसको उल्लेख गरिसकें । साथीहरुका सबै कुरालाई हामीले स्वीकार गर्नुपर्दछ । 

 

पौराणिक कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा हलाहल विष निस्क्यो । त्यो विष समाजमा प्रवाहित हुन दिएको भए संसार दग्ध हुन्थ्यो । तर भगवान शिवले त्यो विषलाई कण्ठमा धारण गरेर संसारलाई बचाउनुभयो, अमृतको मात्र वितरण गरेर मनुष्य लगायत सबै प्राणीहरुको रक्षा गर्नुभयो । मैले यो प्रसंग किन उधृत गरेको हुँ भने नराम्रा र विषालु कुराहरुलाई हामी आफैले समन गरौं, वाहिर वग्न नदिऔं ।

 

राम्रा र सकारात्मक कुराहरुलाई पार्टीको सबै तहमा प्रवाहित गरौं । यसबाट हामीलाई अपरिमित आत्मविश्वास र अजेय शक्ति प्राप्त हुन्छ । यो आजको आवश्यकता हो । अव हामी भविष्यको मार्गचित्र तयार गर्न लागौं । यो बैठकको समापन हुँदा अझ वढी उत्साह र आत्म विश्वासका साथ हाम्रो पार्टीलाई फेरी नेपाली जनताको सबैभन्दा विश्वशनीय र प्रिय पार्टीको रुपमा पुर्नस्थापित गर्ने दृढ निश्चयका साथ क्रियाशील हुन पार्टीका सबै साथीहरुलाई अभिप्रेरित गर्न सकौं ।

 

हाम्रो अग्रसरता नहुँदा या हामीले अभिरुचि नदेखाउँदा निराश भएर निष्कृय रहेका अग्रजहरु र  ठुलो लोकतन्त्रवादी जनमत कांग्रेस बाहिर छ । नेपाली कांग्रेसको दायरा बाहिर रहेका तर पार्टीमा आउन चाहने राम्रा व्यक्तिहरुलाई हामीले ढोका खोल्नु पर्दछ । मलाई आत्मविश्वास छ एउटा राजनीतिक परिवारको सदस्य र पार्टीको महामन्त्रीको नाताले भन्न चाहन्छुकी हामी पार्टीलाई जुनसकै र जस्तोसकै संकटबाट पनि पार लगाउन सक्छौं । पार्टीका साथीहरुका भावना र आकांक्षा मुताविक पार्टीलाई अघि बढाउन सक्छौं । म यस कुरामा पार्टीका सबै साथीहरुलाई विश्वासका साथ आश्वस्त पार्न चाहन्छु ।   

 

जय नेपाल !
डा. शशांक कोइराला
  महामन्त्री
 
२०७५ बैशाख १६ 

 

 

डा. शशांक कोइराला

विशेष