मुख्य समाचार देश

संसद्मा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

संसद्मा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् ।

 

संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी केन्द्रका संघीय सांसदले प्रत्येक निर्वाचन क्षेत्रमा यसअघि छुट्याइँदै आएको बजेट ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सभामुख, अर्थमन्त्री र प्रधानमन्त्रीलाई चर्को दबाब दिएका हुन् ।

 

नीति निर्माणको भूमिका निभाउनुपर्ने संघीय सांसदले १० करोड माग गरेपछि प्रदेश सांसदले समेत आ–आफ्नो निर्वाचन क्षेत्रका लागि २५/२५ लाख रुपैयाँ छुट्याउन प्रदेश सरकारलाई दबाब बढाएका छन् । स्थानीय तहमा हुने विकास निर्माणको काम स्थानीय सरकारले गर्ने संवैधानिक व्यवस्था छ ।

 

मध्यमस्तरको विकासको काम प्रदेशले नै गर्ने र राष्ट्रिय गौरवमा परेका योजना मात्रै केन्द्रले गर्ने गरी संविधानमै विकास निर्माणका लागि तीनै तहको सरकारको अधिकार तोकिएको छ । तर प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले भने राज्यको ढुकुटी रित्तो भएको भन्दै अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको श्वेतपत्रलाई समेत बेवास्ता गरी करोडौं बजेट माग्न थालेका हुन् ।

 

‘१० करोड पुर्‍याउनुपर्छ भनेर माग राखेका छौं । यसका लागि अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेट्यौं । उहाँहरू सकारात्मक हुनुहुन्न,’ खोटाङका एमाले सांसद विशाल भट्टराईले भने, ‘अर्थमन्त्रीले स्थानीय र प्रदेश सरकार पनि छ । केन्द्रका सांसद विकासका काममा लाग्नु उचित होइन भन्नुभएको छ ।’

 

माओवादी सांसद टोपबहादुर रायमाझीले यसपालिको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि तीन करोडभन्दा बढी रकम विनियोजन हुनुपर्ने पक्षमा छलफल भइरहेको बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीलाई समेत भेटेर निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि बजेट बढाउन आग्रह गरिएको जानकारी उनले दिए । ‘जनताले विकासको आशा गरेका हुन्छन् । समानुपातिक र सन्तुलित रूपमा विकास हुने हो भने यसरी छुट्टै बजेट आवश्यक पर्दैन,’ उनले भने, ‘सिस्टम नबसेसम्म यसरी बजेट दिने व्यवस्था हुनुपर्छ ।’

 

पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि ६ सय १ जनालाई दिइएकाले अहिले १ सय ६५ जनालाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि बजेट दिन हिचकिचाउन नहुने बताए । ‘हामीलाई जनताले विकास निर्माणको प्रतिनिधिका रूपमा चिनेका हुन्छन्,’ उनले भने।

 

‘संघ र स्थानीय तहले गर्ने विकास पनि जनताका लागि हो । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको पैसा पनि जनताकै विकासका लागि हो । अहिले यसको आवश्यकता छ,’ उनले भने ।

 

सांसदले माग गरेअनुसार नै प्रत्येक निर्वाचन क्षेत्रमा १० करोडका दरले बजेट विनियोजन गर्ने हो भने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि वार्षिक १६ अर्ब ५० करोड रुपैयाँ चाहिन्छ । त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी ३ सय ३४ जनालाई ५० लाखका दरले विगतको जस्तै बजेट छुट्याउँदा १ अर्ब ६७ करोड आवश्यक पर्छ ।

 

प्रदेश सांसदले माग गरेअनुसार नै छुट्याउने हो भने ७ प्रदेशका ५ सय ५० सांसदका लागि मात्रै १ अर्ब ३७ करोड रुपैयाँ बजेट आवश्यक पर्छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र प्रदेश सांसदलाई रकम दिन करिब साढे १९ अर्ब रुपैयाँ आवश्यक पर्छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सिन्डिकेट लबिइङ

विशेष